‘ऊनको स्वीटर’ बनाउन निकै उतारचढाव भाेगेँ, अहिले प्रतिक्रियाले खुसी छु : निर्देशक चाैहान

सुस्मिता बजगाईं २४ वैशाख २०८२ १३:०४
42
SHARES
‘ऊनको स्वीटर’ बनाउन निकै उतारचढाव भाेगेँ, अहिले प्रतिक्रियाले खुसी छु : निर्देशक चाैहान

काठमाडौँ- ‘तिनपाते’, सुनाखरी’, ‘बाफ’, ‘बटौली’जस्ता चर्चित म्युजिक भिडियोका निर्देशक हुन्, नवीन चौहान। म्युजिक भिडियो निर्देशन गरिरहेका चौहानले पहिलोपटक फिल्म बनाउन होमिएका छन्। उनको डेब्यु निर्देशनमा फिल्म ‘ऊनको स्वीटर’ वैशाख २६ देखि प्रदर्शन हुँदैछ।

म्युजिक भिडियो निर्देशन गर्दै गर्दा उनलाई फिल्म बनाउँछु भन्ने लागेको थियो तर यति छिट्टै पूरा हाेला भन्ने कल्पना गरेका थिएनन्। आफूले यसअघि पनि म्युजिकल फिल्म निर्देशन गरिरहेकोले फिल्ममा काम गर्न त्यति गाह्रो नभएको उनी सुनाउँछन्।

‘सबै विधामा काम गर्ने शैली आ-आफ्नै हुन्छ। म्युजिक भिडियो निर्देशनमा पनि कहिले पात्रको माध्यमबाट, कहिले क्यामेरा टेक्निकल त कहिले फिल्डमा गएर काम गरिरहेको थिए। दुबैको माध्यम क्यामेरा नै हो। यसले मलाई केही सहज भयो,’ उनले भने।

फिल्म घोषणा गर्दा उनी जति खुसी थिए, बनाउन त्यति नै गाह्रो भएको उनको अनुभव छ। चार वर्षको अन्तरालमा फिल्मको सम्पूर्ण काम सकिएको र अहिले प्रचारसामग्रीबाट सोचेभन्दा राम्रो प्रतिक्रिया पाइरहेको उनले सुनाए।

‘फिल्म घोषणा गर्दा जति ज्यादै खुसी भएको थिए। तर कथा लेखनमा धेरै उतारचढाव, बाधा, र उथलपुथल भोगे। सबै काम सक्दा हामीलाई चार वर्ष लाग्यो,’ उनले भने, ‘अहिले गीत, टिजर, ट्रेलर र प्रमोसनले खुसी दिइरहेको छ।’

यतिबेला चर्चामा रहेको गीत ‘काफ्ले’ पनि यही फिल्ममा समावेश छ। यसअघि सार्वजनिक भएका ‘मखमली’ र ‘फूल’ बोलको गीत र फिल्मको ट्रेलरले पनि चर्चा बटुलेको छ। ऊनको स्वीटर अर्थात् जाडोमा लगाइने न्यानो कपडा। निर्देशक चौहानले पनि फिल्मको शीर्षकलाई न्यानोपन र शितलताकै रुपमा अर्थ्याए।

फिल्म सामाजिक पृष्ठभूमिमा आधारित विविधतायुक्त समाज भित्रको सुन्दर पक्षलाई हेर्ने प्रयास गरेको चौहानले बताए। ‘फिल्म लिम्बू समाज भित्रकै काफ्लेको कथा हो। धरणीधर काफ्ले र फूल पात्रको। फिल्ममा ग्रामीण परिवेशलाई समेट्दै अघिल्लो पुस्ताले भोगेको कठिनाई पनि छ। मानव/मानव बीचको प्रेम, समाज/समाजको कुरामार्फत विविधता देखाएको छु।’ उनले भने।

फिल्मको मुख्य भूमिकामा छन्, अभिनेता/अभिनेत्री विपीन कार्की र मिरुना मगर। धरणीधर काफ्लेको भूमिकामा विपीन छन् भने फूल पात्रको भूमिकामा मिरुनाले अभिनय गरेकी छन्।

अभिनेता कार्कीले आफूले अहिलेसम्म खेलेको र भविष्यमा सम्झँदा ‘ऊनको स्वीटर’ गर्व गर्न लायक बनेको बताए। ‘फिल्मकाे नतिजा जस्ताेसुकै आओस्, ऊनको स्वीटर मैले खेलेको फिल्ममध्ये टप फाइभमै पर्छ,’ उनले भने, ‘जसरी मैले ‘हरि’, ‘नाका’, ‘सेल्फी किंग’ र ‘जात्रा’लाई मेरा गर्व गर्न लायक फिल्म भन्न सक्छु।’ फिल्ममा धरणीधरको जवान हुँदा र परिपक्क भइसकेपछिको दुई ओटा आयाम रहेको उनले खुलाए। उनको भनाइअनुसार धरणीधर कम बोल्ने, साधारण खालको छ। यसअघि फिल्ममा आफूले कमेडी शैली प्रस्तुत गरेपनि यसमा उनकाे चरित्रमा गहिराइ रहेकाे  बताए।

त्यस्तै, फूलको भूमिकामा रहेकी अभिनेत्री मिरुनाले अहिले चलिरहेको फिल्म भन्दा ऊनको स्वीटर फरक रहेको बताइन्। सुरुमा नै निर्देशकले फूल गीतको भर्सन सुनाएपछि आफू काम गर्न प्रभावित भएको उनले सुनाइन्। फिल्ममा भनिएको फूल र धरणीको प्रेम कथा दर्शकले रूचाउनेमा उनी विश्वस्त छिन्। मिरुनाले जतिपनि फिल्म खेलिन् सबै पात्र ग्रामीण भेगकी महिलाको चरित्रमा देखिएकी छन्। उनी अभिनेत्री बोल्ड हुन्छन् भन्ने सोचलाई परिवर्तन गर्न आफूले यस्तै चरित्र गरिरहेको बताइन्।

‘समाजमा भैरहेको पात्रलाई फिल्ममा कसरी देखाउने भन्ने पात्रलाई मैले छनोट गरेकी छु। अभिनेत्रीको बोल्ड क्यारेक्टर पहिरनले होइन् क्यारेक्टरले लिएको निर्णय नै बोल्ड हो भन्ने लाग्छ। पहिरनमा भनिने बोल्ड क्यारेक्टरलाई परिवर्तन गर्न चाहान्छु।’ उनले भनिन्।

एलेक्स पारसले यही फिल्मबाट डेब्यु गरेका छन्। डान्सर हुँदै फिल्ममा प्रवेश गरेका पासर पहिलोपटक चलेका कलाकार विपिन, मिरुना, परीक्षासँग काम गर्न पाउँदा निकै खुसी छन्। सहरमै हुर्केका पारसले फिल्म छायांकनकै दौरानमा दुई महिना गाउँमा बिताएको सुनाए। फिल्ममा उनको जोडी परीक्षा लिम्बूसँग बाधिएको छ।

परीक्षाले यसअघि ‘पुजार सार्की’, ‘जारी’, छक्कापञ्जा ४’ मा सहायक भूमिकामा अभिनय गरेकी छन्। साथै ‘ऊनको स्वीटर’ मा विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमूलगायत कलाकारको अभिनय छ।

निर्देशक नवीनसँगै आर्टमाण्डुले पनि पहिलोपटक फिचर फिल्ममा लगानी गरेको छ। आर्टमाण्डुको यसअघिका ‘पाहुना हजुर’, ‘सुनाखरी’, ‘तिनपाते’, ‘के माया लाग्छ र’, ‘चन्द्रमा’, ‘बाफ’लगायतका गीत चर्चित छ।

प्रकाशित: २४ वैशाख २०८२ १३:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast