पूर्वराजदूत प्रा. खत्रीको अमेरिका अनुभव : कूटनीति र प्रवासी नेपालीको भविष्य [अन्तरवार्ता]

चन्द्रशेखर अधिकारी २२ वैशाख २०८२ २१:२०
8
SHARES
पूर्वराजदूत प्रा. खत्रीको अमेरिका अनुभव : कूटनीति र प्रवासी नेपालीको भविष्य [अन्तरवार्ता]

प्राध्यापक श्रीधर खत्री साढे दुई वर्ष अमेरिकाका लागि नेपाली राजदूत भए। विद्यालय शिक्षादेखि अमेरिकामा अध्ययन गरेका उनी लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्र प्राध्यापन र अनुसन्धानमा केन्द्रित रहे। उनले नेपालको परराष्ट्र मामिलाका नीति निर्माणमा विभिन्न भूमिका निर्वाह गर्दै आएका छन्। त्यसैले खत्री नेपालको परराष्ट्र मामिलाबारे पहिलो पंक्तिका जानकार मानिन्छन्। अन्तर्राष्ट्रिय संघसंस्थामा रहेर विदेश मामिलाबारे अध्ययनअनुसन्धान गरी तयार पारिएका उनका पुस्तक र अनुसन्धानमूलक सामग्रीहरू कूटनीतिमा चासो राख्नेका लागि मार्गनिर्देशक हुन्। उनको संयोजनमा रहेको उच्चस्तरीय कार्यदलले बदलिँदो सन्दर्भमा नेपालको परराष्ट्र नीति र मन्त्रालयको संरचनाबारे दिएको सिफारिस मननयोग्य छ। राजनीतिक परिवर्तन र भागबन्डाका कारण खत्री राजदूतको कार्यकाल नसकिँदै फर्कन बाध्य भएका हुन्। प्राध्यापक खत्रीसँग नेपाल-अमेरिका सम्बन्ध र अमेरिकामा रहेका नेपाली विद्वान् र अर्को पुस्ताको नेपालीबारेमा हिमाल प्रेसका चन्द्रशेखर अधिकारीले गरेको कुराकानी :

राजदूतबाट फिर्ता हुनुभएको लामो समय भयो। अहिले केमा व्यस्त हुनुहुन्छ?

म फर्केको ९-१० महिना भइसकेछ। आएलगत्तै पारिवारिक भेटघाटका लागि केही समय अस्ट्रेलिया गएर बसेँ। त्यहाँबाट फर्केर आएपछि भेटघाट र घुमघाममा व्यस्त भएँ। मेरा छोराछोरी नेपाल आएका हुनाले यताउता गर्दैमा समय बित्यो। अहिले म पुरानै कार्यमा फर्कँदै छु। म अध्ययनअनुसन्धानमा केन्द्रित छु। विभिन्न विश्वविद्यालयमा आफ्नो विषयबारे अध्यापन गराउँदै आएको छु।

तपाईँको पारिवारिक पृष्ठभूमि र अध्ययनअनुसन्धान अनि कूटनीतिमा जोडिएकै कारणले गर्दा पिताकै स्थानमा यहाँलाई फिल्डमा उत्रेर कूटनीतिज्ञ भएर काम गर्न कत्तिको सजिलो भयो?

मेरो जन्म सैन्य एवम् कूटनीतिक परिवारमा भएको हो। म लामो समय बुवासँग अमेरिकामा बसेँ। त्यहीँ अध्ययन गरेँ। पढाइ सकेपछि नेपाल आएर अध्ययनअनुसन्धानमा केन्द्रित भएँ। बुवाबाट कूटनीतिक विषयमा ज्ञान प्राप्त गरेँ। सोही कारण मलाई कूटनीति विषय अध्ययनमा रुचि बढ्न थाल्यो। आफूले पढेकै विषयमा धारणा राख्दै आएँ।

त्रिभुवन विश्वविद्यालयमा साढे दुई दशक अध्यापन गर्दा कूटनीतिक अनुसन्धानमा जोडिएँ। हामी कूटनीतिमा अनुभवी मुलुकका रूपमा चिनिन्छौँ। २००७ सालपछि परराष्ट्र सम्बन्धमा अपनाइएको विविधीकरणले मुलुकलाई राम्रै गरेको थियो। नेपाल खुला संसारमा प्रवेश गर्दै असंलग्नताको नीतिमा अडिग भएपछि विकासका लागि आर्थिक स्रोत जुटाउन सहज भयो। २०४७ र २०६२/६३ को आन्दोलनपछि मुलुकको परराष्ट्र नीति, परराष्ट्र क्षेत्र आमनागरिकको तहमा गएको देखिन्छ। सबैलाई यसबारे चासो छ।

अमेरिकामा अढाई वर्ष त्यही काम गरेर फर्किएँ। कार्यक्षेत्रमा ओर्लेर काम गर्न असजिलो र चुनौतीपूर्ण हुने रहेछ। म हुर्किएको निवासमा अहिले दूतावास भवन रहेछ। निवासका लागि केही पर किनिएको रहेछ। खुसी लाग्यो। हामी अमेरिकी कूटनीतिमा दक्षिण एसिया क्षेत्रकै पुरानोमध्येका एक हौँ।

राजदूत भएर गएपछि मैले तीन बी (बिहे, व्रतबन्ध र बर्थ डे) पार्टीमा उपस्थित नहुने निर्णय गरेँ। त्यसले गर्दा केही समय अलिक आलोचित पनि भएँ। पछि राम्रै प्रतिक्रिया पाएँ। राजदूत रहँदा परराष्ट्र मन्त्रालयको समन्वयमा रहेर उपलब्ध स्रोतसाधन, मन्त्रालयको सामर्थ्य र चासोअनुरूप रहेर काम गरेँ। खुसी छु। जैसीकोठा वा मुन्सीखाना मात्र होइन, परराष्ट्र मन्त्रालय पनि दक्षिण एसियाकै पुरानोमध्येमा पर्छ। कहिल्यै उपनिवेश नभएका हाम्रो कूटनीति सञ्चालन राम्रै छ। त्यसैले आफू सक्रिय भएर अघि बढेमा धेरै काम गर्न सकिन्छ। राजदूत प्रो चाही हुन पर्छ। निर्देशन पर्खेर मात्र बसेमा दैनिकी कार्यसम्पादन मात्रै सञ्चालन हुन्छ। यसमा भने सुधार ल्याउनुपर्नेछ।

हामी अहिले विश्वभर छरिएका छौँ। त्यही कारण भूराजनीति, नेपालको सम्बन्ध, पछिल्लो अवस्थासहितका विषयमा हामीले पटकपटक कुराकानी पनि गरेका छौँ तर अमेरिकामा राजदूत भएर गएपछि तपाईँले गर्नुभएका मुख्य काम र विशेष जोड दिएका पक्षहरूबारे स्पष्ट पारिदिनुस् न।

राजदूत नरहँदा म नेपालको कूटनीति केकसरी चलिरहेको छ भनेर नजिकबाट नियालिरहेको हुन्थेँ। मैले अमेरिकामा पुगेपछि नेपाल र अमेरिकाको सम्बन्ध विस्तारमा सरकारी स्तरबाट प्राप्त निर्देशनअनुरूप काम गरेँ। त्यसका अतिरिक्त अमेरिकामा रहेका राजनीतिमा नदेखिएका तर प्रबुद्ध रहेका नेपालीको खोजीमा लागेँ। अमेरिकामा त्यस्ता व्यक्ति धेरै छन्।

अमेरिकामा रहेका तीन लाखभन्दा नेपालीमध्ये हजारौँ नेपाली विभिन्न क्षेत्रको विज्ञका रूपमा कार्यरत छन्। ठूलाठूला अनुसन्धानमा सयौँ विदेशीलाई नेृतत्व गर्ने नेपाली पनि छन्। त्यस्ता नेपालीलाई राष्ट्रले सम्झनुपर्छ र नेपाल ल्याउने व्यवस्थापन गर्नुपर्छ। उनीहरू सेवानिवृत्त हुनु केही समयअघि मात्र भए पनि नेपाल आएर काम गरिदिए धेरै काम हुनेछ। सरकारले पनि त्यसअनुरूपको व्यवस्थापन गर्नुपर्छ।

राजा हुँदा दरबारबाट कूटनीतिक परिचालन हुन्थ्यो अहिले परराष्ट्रमन्त्री (सरकार)मार्फत हुनुपर्नेमा अलिक केन्द्रीकृत हुन सकेको छैन। त्यसमा मेरै नेतृत्वमा बनेको कार्यदलले गरेको अध्ययन प्रतिवेदन पनि सुधारका लागि पर्याप्त छ। त्यसबाहेक सूचना प्रविधि (आईटी)क्षेत्रमा पनि हामीले काम गर्न सक्नुपर्छ। म त्यसमा पनि लागिपरेको थिएँ। नेपालमा बसेर अमेरिकालाई सूचना प्रविधि क्षेत्रमा सहयोग गरिरहेका जनशक्ति पनि छन्।

सूचना प्रविधिका क्षेत्रमा ध्यान दिन सकेमा नेपालको विकास छिटो हुन्छ हो?

पक्कै। सूचना प्रविधि क्षेत्र निकै फराकिलो छ। अहिले खाडीमा नेपाली युवा रोजगारीका लागि गएका छन्। उनीहरू आफ्नो र परिवारको भविष्य सुनिश्चित गर्न गएका हुन्। उच्चशिक्षा नपढेकाहरू मजदुर गर्न गर्न त्यहाँ जानु ठिकै होला। अलिअलि पढेका जनशक्तिले कम्प्युटरको प्रशिक्षण लिएर पनि राम्रा काम गर्न सक्छन्। खाडी जानेमा २० प्रतिशतभन्दा बढी नेपाली पढेलेखेका छन्। उनीहरूलाई एक वर्ष वा १० महिनासम्म कम्प्युटर प्रशिक्षण दिलाएर काम गर्न अमेरिका वा खाडीमै पनि यस्तै काममा पठाउन सकिन्छ। त्यहाँ अवसर छ। तर त्यसमा कार्यमा हामी लाग्दैनौँ। जे चलिरहेको छ त्यही चल्न दिन्छौँ।

हामीले सूचना प्रविधि (आईटी) मा जोड दिएमा यो क्षेत्र नेपालको विकासको ‘गेम चेन्जर’ बन्नेछ। त्यसैले सीपयुक्त कामदार उत्पादनमा जोड दिनुपर्छ। हामीले अयोग्यलाई सिपालु कामदारका रूपमा ढाल्न सक्नुपर्छ। सीटीईभीटीले दिने प्रशिक्षणा अधिकतम नेपालीकोमा पुर्‌याउन आवश्यक देख्छु। ‘सेमी स्किल’  कामदारको ‘भ्यालु’ विश्वमा नै बढी रहेको छ।

खाडी मुलुकमा रहेका नेपालीलाई सानो प्रशिक्षण दिएर पनि ‘सेमी स्किल’ मा काम लगाउन सक्ने अवस्था छ। घाममा गर्ने काम घरभित्र बसेर गर्न सक्छ र आम्दानी पनि बढ्छ। अधिक रोगबाट बच्न सकिन्छ। अर्थात स्वस्थतामा क्षयी हुँदैन।  यसमा निजी क्षेत्र मात्र होइन सरकार लाग्नुपर्छ। हामीले प्राविधिक शिक्षामा जोड दिन आवश्यक छ।

म आफैँ पिताले नेतृत्व गरेको स्थानमा काम गर्न जाँदा उहाँले भन्दा बढी के दिन सक्छु भनेर घोत्लिन्थेँ। बाल्यकालमा पिताले गरेको काम देखेकै आधारमा योजना बनाउँदै आएको छु। पछिल्लो समय परराष्ट्र मन्त्रालयमा पर्याप्त दरबन्दी थपिएको सुनेको छु। परराष्ट्रमा लगानी बढ्ने र केही परिणाममुखी काम हुने पनि देख्छु। हाम्रो जस्तो मुलुकले परराष्ट्रमा लगानी गर्नुपर्छ। तर परराष्ट्रमा आउनेहरूलाई प्रशिक्षण आवश्यक छ। कर्मचारीलाई सिकाउँदा जस्तोसुकै काम पनि गर्न सक्छन्।

अमेरिकीहरूले नेपालबाट पनि यस्तो राजदूत पाएको भन्दै खुसी व्यक्त गरेको सुनिएको थियो। नियमित कामबाहेक बौद्धिक नेपालीको खोजी मात्र गर्नुभयो कि नेपालको कमजोरी कहाँ छ भनेर अध्ययन पनि गर्नुभयो?

हाम्रो नेपाली प्रवासीका बारेमा खासै अध्ययन भएको थिएन। केही गैरआवासीय नेपाली गरेका अध्ययन अपर्याप्त छन्। एसिया फाउन्डेसन नामक गैरसरकारी संस्थाबाट पैसा लिएर अमेरिकामा रहेका नेपालीले के गर्न सक्छन् भनेर अध्ययन गरिएको पाइन्छ।

अमेरिकामा बसेकाहरूले नेपाललाई गाली मात्र गर्छन् भन्ने गलत सोचाइ छ। अमेरिकामा विश्व राजनीतिका सम्बन्धमा टिप्पणी गर्नसक्ने विद्वान् नेपाली धेरै छन्। केहीले नेपालको राजनीतिक दलसँग समन्वय गरेर काम गरिरहेका छन्। ९० प्रतिशतभन्दा बढी त अमेरिकामा आफूलाई विकास गरेर बसेका छन्। उनीहरूमा नेपाल छोडेर अमेरिका बस्नुपरेको पीडा त छँदैछ। त्यो सँगै नेपालमा केही गर्न सकिन्छ कि भन्ने पनि छ।

अमेरिका प्रवेश गर्नेबित्तिकै जिप चलाएर जीवन धान्न थालेका नेपाली बिस्तारै आफ्नै व्यापारमा जम्न थालेका छन्। कोही साढे चार दशकभन्दा बढी उमेर भएपछि भने नेपालका बारेमा चिन्ता गर्ने छन्। अमेरिकामा बसेकाहरूलाई गैरआवासीय संघमा आबद्ध भएका नेपाली मात्र भनेर बुझ्नु हुँदैन। त्यसमा आबद्ध नहुने र भएर पनि सक्रिय नहुने धेरै नेपाली छन्।

म १९६० मा अमेरिकामा रहँदा त्यहाँ नेपाली र भारतीय भोजनालय (रेस्टुरेन्ट) थिएन। मसला किन्न पनि स्पेनिस पसलमा पुग्नुपर्ने अवस्था थियो। अहिले नेपाली दूतावास नजिकै आधा दर्जन नेपाली भोजनालय छन्। कोलोराडोतिर जाँदा त दुई सय जति नेपाली भोजनालय देखेँ। अन्यत्र पनि यस्ता भोजनालय खुलेका छन्। भोजनालय एक प्रकारको व्यवसाय हो। यसबाहेक अन्य व्यवसाय गरेर बसेका पनि छन्। उहाँहरूको नेपालप्रति केही गर्ने धारणा छ। यसैले दूतावास सक्रिय भएर नेपाल र अमेरिकाको सम्बन्ध अझ बलियो बनाउन त्यहाँको प्रवासी समुदायलाई जोड्न खोजेका थियौँ। अपर्झट फर्कनुपर्‍यो। मभन्दा पछाडि जाने राजदूतले त्यसलाई निरन्तरता दिनुहोला भन्ने आशा छ।

अमेरिकामा रहेका नेपालीहरू नेपालमा लगानी गर्न चाहन्छन् भन्ने बुझाइ हो?

पक्कै। उहाँहरू नेपालको विकासमा सहयोग हुने र आफूलाई पनि केही आम्दानी भइरहने क्षेत्रमा लगानी गर्न चाहनुहुन्छ। कतिपले जलविद्युत् उत्पादनका क्षेत्रमा काम गर्ने इच्छा देखाउनुभएको छ। अमेरिकामा ‘टनेल इन्जियिनर’ र ‘सिटी डेभलपर’ नेपाली जनशक्ति पनि बढ्दै छ। विश्व बैँकमा अहिले एक सयभन्दा बढी नेपाली कार्यरत छन्। उनीहरू यत्तिकै छनोट भएका त होइन होला। त्यस्ता नेपालीलाई नेपालमा ल्याएर काममा लगाउन सक्नुपर्छ। हामीले लोकसेवा उत्तीर्ण मात्र विज्ञ हुने सोचाइ त्याग्नुपर्छ।

विश्व बैँक त उदाहरण मात्र हो। अन्य धेरै केन्द्रहरूमा काम गर्ने नेपाली पनि पर्याप्त छन्। निजी कम्पनीको उपल्लो तहमा र विश्वप्रख्यात विश्वविद्यालयमा अध्यापन गराउने नेपाली पनि छन्। प्राज्ञिक र वैज्ञानिक अनुसन्धानमा संलग्न नेपाली पनि छन् अमेरिकामा। हामीले त्यस्ता नेपालीको क्षमता र सीपको उपयोग गर्न सक्नुपर्छ। प्रवासी नेपाली नेपालको ठूलो शक्ति हो। उनीहरूलाई उचित ढंगले नेपालमा लगानी गर्ने वातावरण बनाउन आवश्यक छ। म त्यहाँ रहँदा यस्तै विषयमा केन्द्रित रहेँ। यसबारे एउटा अनुसन्धान प्रतिवेदन पनि तयार पारेको थिएँ। त्यो म भन्दा पनि हाम्रो दूतावास टीमले काम गरेको हो।

तपाईँले त्यो प्रतिवेदन नेपाल सरकारलाई बुझाइसक्नुभएको हो?

हामीले प्रतिवेदन त दिएका छौँ। अझ सूचना प्रविधिमा के गर्ने कस्तो गर्ने भन्ने विषयमा इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट (आईआईडीएस) ले प्रतिवेदन बाहिर ल्याएको छ। उक्त संस्थाले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ। अब यो कार्यमा सरकारले सक्रियता बढाउनुपर्छ। त्यहाँ रहेका नेपालीले के गरिरहेका छन्। आईटीमा के गर्न सक्छन भन्ने जस्ता विषयहरु अवस्था औल्याइएका छन्। राजदूतले अध्ययन गरेको भन्दा पनि त्यसका लागी वातावरण बनाएको हो। जुन अन्य कतिपय स्थानमा पनि भएकै होला।

तपाईँले एक ढंगले प्रवासी नेपालीका बारेमा अनुसन्धान गर्नुभएछ। त्यहाँ अनुसन्धान गर्ने टोलीलाई नेतृत्व गर्ने नेपाली पनि छन्। उहाँहरूलाई कसरी हेर्नुहुन्छ?

मैले अघि पनि भनेँ- मैले कूटनीतिका विषयमा अध्ययन गरेँ, पढाएँ र काम पनि गरेँ। काम गर्दा यस्तो अनुभव भयो कि कूटनीति भनेको वार्ता गर्ने र त्यस मुलुकको राजनीति बुझ्ने मात्र होइन रहेछ। कूटनीतिमा त आफ्नो मुलुकका सबै विषयमा पूर्ण जानकारी र सम्बन्धित मुलुकका सबै (साना र ठूला) समस्या र सामर्थ्यबारे जानकारी हुनुपर्ने रहेछ। अनि व्यावहारिक ज्ञान पनि उत्तिकै आवश्यक पर्छ। सबै विषयमा पूर्ण जानकारी हुनुपर्ने र वाक् चतुर्‍याइँ पनि उत्तिकै चाहिँदो रहेछ। त्यतिमात्र होइन छिट्टै निर्णय लिन सक्ने र निर्णयका लागि पर्खाउने क्षमता पनि हुनुपर्ने रहेछ।

मैले यस्तो किन भनेको भने कूटनीतिमा फोहोर व्यवस्थापनको वार्तादेखि हवाई  तथा अन्तरिक्ष यान उडानको वार्तासम्म गर्नपर्ने हुन्छ। मैले त्यस्ता सबै पक्षलाई ध्यानमा राखेर काम गरेँ। आगामी दिनमा यो काम यहाँबाट थाल्दा हुन्छ भन्नेसम्मको तयारी राखिदिएर आएको छु।

अमेरिकामा राजदूत भएर पूर्वमुख्यसचिव जानुभएको सुनेँ। उहाँले जानुअघि हामीसँग छलफल गर्नु भएन। यसअघि सिफारिस भएका र अहिले बेलायतमा राजदूत भएकाले भने मसँग छलफल गर्नुभएको थियो। मैले सुनुवाइ सकेपछि सबैसँग छलफल गरौँला भनेको थिएँ। पछि परिवर्तन भएछ। मसँग छलफल नगरे पनि फाइल अध्ययन गर्नुभयो भने उहाँलाई विषयवस्तुको सजिलै जानकारी हुनेछ।

अमेरिकामा रहेका पहिलेको नेपाली समुदाय र अहिलेको नेपाली समुदायलाई कसरी हेर्नुभएको छ?

पहिला नेपाली समुदाय भनेको नेपाली दूतवासमा काम गर्ने कर्मचारीको परिवार मात्र हुन्थ्यो। अनि यसो एकदुईजना उच्चशिक्षाका लागि पुगेका र कोही मिलाएर आएर व्यवसायमा लागेको वा जागिर खाएका हुन्थे। त्यो पनि डीसी क्षेत्र र न्युयोर्कमा सीमित थियो।

अहिले त डीसी भर्जिनिया क्षेत्रमा मात्रै ४० हजारभन्दा बढी नेपाली छन्। अमेरिकी तथ्यांक मान्दा अमेरिका भरी तीन लाख बढी होलान् तर त्यहाँ पाँच लाखभन्दा बढी नेपाली छन्। हामीले नेपालबाहिर बसेकालाई त्यसैले पलायन भए भनेर बुझ्नु हुँदैन। नेपालमा अवसर पाएर अमेरिका गएको भनेर बुझ्नुपर्छ। पहिले युरोपबाट गएका हुन या जापान काेरियाबाट गएका उनीहरुले आफ्नालाई आफ्नो स‌ंस्कृती र आफ्ना पन नसिकाउँदा उतै मिसिए।

अमेरिकामा रहेका नेपाली समुदायमा आफ्ना बच्चालाई नेपाली सिकाउने, नेपाली शैलीका कपडा लगाउने, नेपाली चाडपर्व मनाउने, नेपाली खाना यो हो भनेर बुझाउने, अनि राम्रो अध्ययन गराउने गर्दा उनीहरू पछि नेपाल आउने, नेपालको विकासमा चासो दिने व्यक्तिमा पर्छन्। जुन भारतीयले पनि गरे। अहिले कैयन भारतीयहरु आफ्नै मुलुक फर्केका छन्। नफर्के पनि आफू वा पिता पूर्खा जन्मेको स्थानमा घर बनाएर बेला बेलामा आउने बस्ने गरिरहेका हुन्छन्। यसले गर्दा जरो विर्सदैनन्।

नेपालीहरू विश्वमा जहाँ पुगे पनि आफ्नो चिनारी बिर्सिएका छैनन्। विदेशीभन्दा नेपालीको बुद्धि र क्षमता कम छैन। नेपाली विद्वान्‌ले नेतृत्व गरेका धेरै क्षेत्र छन्। नेपाली जहाँ पुगेका छन्, त्यहाँ राम्रो गरेका छन्। पहिला नेपाली विदेश जाँदा बौद्धिक पलायन (ब्रेन ड्रेन) भनिन्थ्यो अहिले त बौद्धिक लाभ (ब्रेन गेन) हुन थालेको छ। सरकारले राम्रो नीति बनाएपछि प्रवासी नेपालीहरू बिस्तारै स्वदेश फर्कनेछन्। मातृभूमि छाडेकालाई नै बढी मातृभूमिको याद आउँदो रहेछ।

अमेरिकाको प्रतिष्ठित ठाउँमा पुगेका नेपाली पनि पछि नेपाल नै फर्कनेछन् भनेर यहाँले राम्रो कुरा सुनाउनुभयो। त्यस्तो होला त?

प्रविधिको विकासले विश्व सीमाविहीनझैँ भएको छ। यद्यपि सीमा विवाद विश्वका मुलुकहरुमा व्याप्त छ नै। प्रविधिकै कारण नेपालप्रति विदेशमा रहेका नेपालीको संलग्नता बढेको हो। नेपाली भेषभूषाले गर्दा धेरै एकअर्कामा जोडिएका छन्। अमेरिकामा रहेका युवा अध्ययन गर्छन्। सक्षम भएपछि जहाँ गएर काम गरे पनि भयो। उनीहरूका लागि नेपालजस्तो पायक पर्ने र सजिलैसित काम गर्ने मुलुक अन्य हुनै सक्दैन।

नेपाली भेषभूषा, खाना, विविधता, संस्कार, शैली, परम्पराले नयाँ पुस्तालाई पक्कै तान्नेछ। जसको कारण उनीहरू यता आउने मेरो विश्वास छ। मेरा पनि कैयौँ आफन्त बाहिर छन्। नाति पुस्ता नेपालमा हुन्छन् भन्नेमा आशावादी छौँ। त्यस्तो संकेत देखिएको पनि छ। बिहे गर्न नेपाल आउने, व्रतबन्ध गर्न नेपाल आउने, घुम्न नेपाल आउने परम्परा कायमै छ नि। हामी शिक्षामा कमजोर हुनाले समस्या थियो। अब बिस्तारै हामी शिक्षामा पनि समान स्तरमा पुगेका छौँ। जसले गर्दा एकअर्कामा जोडिन सहयोगी हुनेछ।

यहाँको जस्तो दृष्टिकोण सरकारले पनि राखेर नेपालीका नयाँ पुस्तालाई तान्ने तयारी केही गरेको छ त?

सरकार यसमा गम्भीर हुँदै गएको देखेको छु। परिवर्तन बिस्तारै हुन्छ। त्यसको अनुभूति पनि हुन्छ। सरकारले अलिकति मात्र ध्यान पुर्‍यायो भने नेपाल सूचना प्रविधिको केन्द्र बन्न सक्छ। हुन त सरकारले पनि नयाँ विकल्प सोचिरहेको छ। हामीले दिएको सुझाव पनि ग्रहण गरेको छ। अहिले एक डलरमा सूचना प्रविधि कम्पनी खोल्न पाउने भएको छ। यो भनेको सरकार कैयौँ गुणा अघि बढेको छ भन्ने हो।

नेपालमा पनि परिवर्तन भएको छ। निर्वाहमुखी कृषि क्षेत्र व्यवसायमा जाँदै छ। त्यसमा अझै सरकारले ध्यान दिन सके खाडीबाट फर्केकाले संगठित रूपमा काम गर्नेछ। कृषिमा आधुनिकीकरण पछि अधिक मुलुकहरू विकसित भएका हुन्। पहिल्यै विकसित मुलुकहरूले नेपाललाई सहयोग गर्नेछन् नै। हामीले पनि त्यस्ता मुलुकबाट सहयोग लिन सक्नुपर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast