
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन्।
सोमबार प्रतिनिधिसभा भवनमा पत्रकारहरूसँग कुरा गर्दै दुई ठूला दल मिलेर बनेको झन्डै दुई तिहाईको सरकारलाई असफल हुने छुट नभएको बताएका हुन्।
उनले सातबुँदे सहमति पालना गर्न सरकार चुकेको उल्लेख गरे। कोइरालाले भने,‘सातबुँदे सहमतिका आधारमा सरकार बनेको छ। सहमतिअनुसार संविधान पुनरावलोकन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक वृद्धिलगायतका कुरामा सरकार चुकेको छ, यी कुराहरू जरूरी हुन्।’
नेता कोइरालाले संविधान पुनरावलोकन गर्ने दुवै दलबीच सहमति भए पनि त्यसमा ढिलाई भएको उल्लेख गरे। संविधान पुनरावलोकन गर्न समय लाग्ने भन्दै उनले ९ महिना बितिसक्दा पनि सुरू हुन नसकेको जिकिर गरे।
कांग्रेस–एमालेको दुई तिहाईको संख्या छ भन्दैमा संविधान संशोधन गर्न नहुने उनको भनाइ छ। कोइरालाले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै सरोकारवालालाई समावेश गरेर संविधान पुनरावलोकनतर्फ अगाडि बढ्नुपर्ने उल्लेख गरे।
नेता कोइरालाले नेपाली कांग्रेसभित्र कुनै समस्या नभएको दाबी गरे। ‘कांग्रेसभित्र हाम्रो कुनै पनि त्यस्तो समस्या छैन। उहाँहरूलाई लागेको मात्र हो,’ उनले भने,‘कति मिडियाले गलत प्रचार गरिदिन्छन्। मेरै बारेमा पनि कति मिडियाहरूले सरकार ढाल्न खोज्यो भनेर प्रचार गरेका छन्। यो सत्य होइन।’
आफू सरकार ढाल्ने खेलमा नरहेको बताएका उनले सरकारलाई असफल हुने छुट भने नरहेको उल्लेख गरे। नेता कोइरालाले सरकार सञ्चालनका लागि कांग्रेस–एमालेले बनाएको राजनीतिक संयन्त्रप्रति असन्तुष्टि जनाए।
‘मैले भनेको चाहिँ के हो भने– बाहिर बसेका संयन्त्र बनाउन हुँदैन, सरकारबाहिरको संयन्त्र बनाउन हुँदैन,’ उनले भने,‘सरकारभित्रको संयन्त्र बनाउनुस्, पालिकासम्म जुन संयन्त्र बनाएर जाने कांग्रेस–एमालेको निर्णय हो त्यो गलत हो।’