
काठमाडौँ- लामो समयपछि अभिनेता तथा निर्देशक सरोज खनाल, अभिनेत्री सरिता गिरी र सरस्वती चौधरी नाटकमा फर्किएका छन्।
उनीहरू सोमनाथ खनालले निर्देशन गर्न लागेको नाटकबाट रंगमञ्चमा फर्किएका हुन्। नाटक आगामी जेठ १५ देखि मण्डला थिएटरमा मञ्चन हुनेछ। नाटकबारे कलाकार चिनाउँदै निर्देशक खनालले सो घोषणा गरेका हुन् तर कथावस्तुबारे खुलाइएको छैन्।
यि कलाकारको अभिनय यात्रा नै थिएटरबाट भएको थियो। थिएटरको अनुभवलाई उनीहरूले फिल्ममा देखाए र लामो समयपछि पुनः रंगमञ्चमै फकिएका छन्। नाटकमा काम गर्न सरोज र सरिताले भने अफर आएको फिल्म छोडेर आएको बताए।
करिब ३० ओटाजति नाटक गरेपछि फिल्ममा लागेका अभिनेता खनालले २०७३ सालपछि यसवर्ष नाटकमा फकिएको बताए। आफ्नो जन्मभूमिलाई बिर्सन नसकेर फिल्म छोडेर नै नाटकमा काम गर्न लागेको उनले सुनाए। ‘विगतमा नाटक छोडेर फिल्ममा काम गरे। त्यो दिनको एकदम पछुतो छ। अहिले फिल्म छोडेर नाटक गर्न लागेको छु। कता कता डर पनि लागिरहेको छ र एकदम खुसी पनि छु।’ नाटकसँग जोडिन पाउँदाको खुसी समेट्दै उनले भने। फिल्ममा सधै चरित्रकै लागि भौँतारिरहनु परेकोले आगामी दिनमा अफर आएसम्म नाटकतिरै निरन्तरता दिने सोच आएको उनको बताए।
सरिता पनि तीन वर्ष अघि नाटक ‘उलार’ देखिएकी थिइन्। मण्डलाकै टिमसँग जोडिन पाउँदाको खुसी साट्दै उनले जीवनको अन्तिम क्षणसम्म रंगमञ्चमै रमाउने चाहना रहेको बताइन्। नाटकमा लामो समय काम गरेपछि उनी पनि फिल्मतिर लागिन्। तर आफूले खोजेजस्तो चरित्र नपाएपछि रंगमञ्चमै फर्किनुपर्ने अवस्थाप्रति उनले गुनासो गरिन्।
त्यस्तै, कलाकार सरस्वतीले यसअघि ‘देउराली डाँडी’ नाटकमा अभिनय गरेकी थिइन्। त्यसपछि उनले यही नाटक गर्दैछिन्। सरोज, सरिता र सरस्वतीबाहेक नाटकमा रंगकर्मी अनुप न्यौपाने र सुशांक मैनालीको अभिनय रहनेछ।
अग्रजदेखि युवापुस्तासम्मलाई समेटेर नाटक बनाएकोले यसले उर्जा थप्ने निर्देशक खनालले विश्वास छ।