
काठमाडौँ- प्रतिनिधिसभा सदस्य सुनिता बरालले काठमाडौँ र काठमाडौँ बाहिरका सरकारी निकायमा हजारौँ सवारीसाधनहरू प्रयोगविहीन अवस्थामा भेटिएको गुनासो गरेकी छन्।
प्रतिनिधिसभामा बोल्दै बरालले प्रयोग नभएका सवारीसाधन व्यवस्थापन गर्नका लागि कार्यदलले हजारभन्दा बढी सवारीसाधन प्रयोगमा छैनन् भन्ने खुलेकाले सरकारसमक्ष ती सवारी व्यवस्थापन गरेर चलाउन अनुरोध गरेकी हुन्।
‘तथ्यांक अद्यावधिक नहुनु, समयमा लिलामी नहुनु, मूल्य निर्धारणमा कठिनाई हुनु, अभिलेख व्यवस्थित नहुनु, र लिलामी गर्नु पर्ने सवारीसाधनको राजस्व नतिर्नुका कारणले पनि धेरै समस्या परेको भनेर उल्लेख गरेको प्रतिवेदनमा छ। त्यस्कारण यो तर्फ सरकारले ध्यान दिन जरूरी छ।’ उनले भनेकी छन्, ‘पुराना सवारीसाधनाले ठाउँ मात्रै ओगटेका छैनन् वातावरणमा पनि नकारात्मक असर पुर्याइरहेका छन्। त्यसकारण उक्त सवारीसाधनहरूमा कतिपय सवारीसाधन विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न पनि सम्भव छ भनिएको छ। जसका लागि कानुनी प्रक्रिया कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउछु।’