पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार : उपसमितिको प्रतिवेदनबारे सांसदहरूबीच विवाद

हिमाल प्रेस २१ वैशाख २०८२ १८:१८
6
SHARES
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार : उपसमितिको प्रतिवेदनबारे सांसदहरूबीच विवाद

काठमाडौँ- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा  भएको भ्रष्टाचारका विषयमा सांसदहरूबीच विवाद उत्पन्न भएको छ। सिंहदरबारमा आइतबार बसेको लेखा समिति बैठकमा सांसदहरूले उपसमितिले तयार पारेको प्रतिवेदनका सम्बन्धमा भिन्नभिन्न राय प्रकट गरेका हुन्।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिअन्तर्गतको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिले विमानस्थल निर्माणका क्रममा १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको थियो। उपसमितिले भ्रष्टाचारमा संलग्न अधिकारीहरूमाथि कारबाही गर्नसमेत सिफारिस गरेको छ।

बैठकमा केही सांसदहरुले उपसमितिको प्रतिवेदनका आधारमा कारबाही सिफारिस गर्नुपर्ने धारणा राखेका थिए भने केहिले थप अध्ययनको आवश्यक रहेको बताएका थिए।

सांसद प्रेम आलेले विज्ञहरु र सरोकारवालासँग छलफल गरेर प्रतिवेदन बनाएकोप्रति धन्यवाद दिनुपर्नेमा उल्टो प्रश्न उठाउनु उचित नभएको बताए। १४ अर्बको ठेक्कालाई २२ अर्ब पुर्‍याउनु भ्रष्टाचार भएको उनले बताए।

अर्का सांसद अमनलाल मोदीले विमानस्थल निर्माणमा त्रुटि भएको महसुस भएकाले समितिले अध्ययन गर्न उपसमिति बनाएकाले उपसमितिको प्रतिवेदनलाई गम्भीर रुपमा लिनुपर्ने धारणा राखे।

सांसद योगेश भट्टराईले पोखरा विमानस्थलको प्रतिवेदन प्रश्नको घेरामा रहेको बताए। प्रश्नको घेरामा रहेका व्यक्ति नै उपसमितिमा रहेकाले स्वार्थको द्वन्द्व देखिएको उनको भनाइ छ। उनले स्वार्थको द्वन्द्व भएका प्रतिवेदन समितिमा प्रस्तुत भएको जिकिर गरे।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिका संयोजक राजेन्द्र लिङ्देनले तथ्यका आधारमा प्रतिवेदन तयार गरिएको बताए।  उपसमितिको प्रतिवेदनमाथि केही सांसदहरुले प्रश्न उठाएपछि लिङ्देनले स्थगलत अध्ययनका साथै सरोकारवालासँग छलफल गरेर प्रतिवेदन बनाएको बताए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययनका क्रममा विज्ञहरुसँग परामर्शसमेत गरेको जानकारी दिए। हचुवाका भरमा प्रतिवेदन बनाइएको भन्दै भ्रम नराख्न उनले आग्रह गरे।

समितिमा उपसमितिको प्रतिवेदन सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ। अबको बैठकमा उपसमितिको प्रतिवेदनमाथि छलफल हुने सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

प्रतिवेदनमा विमानस्थल निर्माण गर्दा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टचार भएको उल्लेख गरिएको छ भने निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको औँल्याइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast