इटहरीमा दुई समूहबीच झडप, दुई घाइते

हिमाल प्रेस २१ वैशाख २०८२ १७:२७
24
SHARES
इटहरीमा दुई समूहबीच झडप, दुई घाइते

इटहरी– इटहरीमा दुई समूहबीच झडप भएको छ। इटहरी २० तरहरामा आइतबार दुई समूहबीच झडप हुँदा एक युवकको घाँटीमा धारिलो हतियार प्रहार भएको छ भने अर्का युवकको टाउकोमा चोट लागेको छ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार इटहरी २ घर भएका २५ वर्षीय पारस भनिने किरन राईको घाँटीमा चोट लागेको छ। उनको अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

यसैगरी इटहरी २० तरहरा घर भएका अन्दाजी ४० वर्षीय वीरेन (बाबु) बुढाथोकीको टाउकोमा चोट लागेको छ। उनको इटहरीमा सामान्य उपचारपछि थप उपचारका लागि आफन्तको जिम्मामा विराटनगर पठाइएको डीएसपी भण्डारीले जानकारी दिए।

दुवै घाइतेलाई प्रहरीले निगरानीमा राखेको छ।

घटनामा इटहरी २० बस्ने १९ वर्षीय सुशानजङ्ग घिमिरे, इटहरी २ बस्ने २३ वर्षीय अरुण राई, इटहरी २ बस्ने नितेस बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

‘पुरानो रिसिइबीका कारण दुई समूहबीच झडप भएको देखिन्छ,’ डीएसपी भण्डारीले भने, ‘दुवै घाइतेमाथि डिटेलमा बुझ्न नपाएका कारण र थप अनुसन्धान भइनसकेकाले ठ्याक्कै के कारण घटना भएको भन्न सकिन्न।’

उनका अनुसार घाइतेको उपचारपछि उनीहरूमाथि र पक्राउ परेका दुवै समूहका व्यक्तिहरूमाथि अनुसन्धान भइसकेपछि थप विवरण खुल्नेछ।

बुढाथोकी तरहरामा कवाडी पसल सञ्चालन गर्दै आएका थिए। उक्त पसलमा आकाश गिरीले काम गर्दै आएका थिए। आइतबार बिहान घिमिरेको समूहले गिरीमाथि सुरूमा प्रहार गरेको थियो। गिरी तरकारी किन्नका लागि पसल गएका थिए। सोही मौकमा छोपेर इटहरी २० तरहरास्थित धनपुरी मार्ग बस्ने घिमिरेको समूहले उनीमाथि आक्रमण गरेको हो।

त्यसपछि दुई समूहबीच झडप भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उक्त घटना योजनाबद्ध किसिमले भएको र मुख्य योजनाकार घिमिरे रहेको प्रहरीको निष्कर्ष छ। उनको समूहमा अरू मानिस पनि रहेकाले खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ। घटनामा गिरी भने फरार छन्। उनको खोजी कार्य भइरहेको छ।

इटहरी २ बाट आएको समूहले खुकुरीसँगै फलामका अन्य सामाग्रीसमेत बोकेर आएको प्रत्यक्षदर्शीले बताएका छन्। घटनामा संलग्नमाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिने तयारी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०८२ १७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast