
काठमाडौँ- श्रीमतीको हत्या गर्न सुपारी दिएका एक वृद्धको हत्या भएको छ। धादिङको गजुरी गाउँपालिका-२ डुँडेठाँटी घर भएका अन्दाजी ६० वर्षीय चूडामणि कँडेलको हत्या भएको हो।
चूडामणिले काठमाडौँ सीतापाइलमा बस्दै आएकी श्रीमती सुस्मिता सिलुवालको हत्या गर्न तीन जनालाई चार लाख नगद सुपारी दिएका थिए। सुस्मिताको हत्या गर्न सुपारीवापत चार लाख नगद लिए पनि उनीहरूको योजना सफल हुन सकेन। पटक-पटक प्रयास गरे पनि सुस्मिताको हत्या गर्ने उनीहरूको योजना सफल भएन।
सुपारी लिएर पनि हत्या गर्न नसकेपछि चूडामणिले उनीहरूलाई दिएको चार लाख नगद फिर्ता मागे। ‘कि त छिटो काम गर्नुपर्यो कि रकम फिर्ता गर्नुपर्यो’ भन्दै उनले दबाब बढाए।
नगद फिर्ता नगरेर सुपारी लिएकाहरूले उल्टै चूडामणिकै हत्या गरिदिए।
चूडामणिको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गजुरी गाउँपालिका-२ डुडेठाटीका ३६ वर्षीय अक्कलबहादुर प्रजा, मकवानपुर राक्सिराङ गाउँपालिका-९ बस्ने २५ वर्षीय पृथलाल थिङ र मकवानपुर राक्सिराङ गाउँपालिका-९ बस्ने २७ वर्षीय सञ्चलाल मुक्तान रहेको प्रहरीले जनाएको छ।
श्रीमती सुस्मितासँग सामान्य बोलचालसमेत नरहेको चूडामणिले हत्या गर्न अक्कलबहादुरलाई चार लाख नगद दिएर सम्झौता गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
सुपारी लिनेहरूले सुस्मिताको हत्या गर्न नसकेपछि पैसा फिर्ता गर्न दबाब दिएपछि अक्कलबहादुरसहित तीनजनाले मिलेर उल्टै चूडामणिको हत्या गरेको अनुसन्धानबाट खुलेको धादिङ प्रहरीका प्रवक्ता डीएसपी सुबास हमालले जानकारी दिए।
हमलाका अनुसार गत चैत २७ गते चूडामणिको शव आफ्नै दुईतले घरको भुइँतलाको कोठाभित्र रहेको अट्याच ट्वाइलेटभित्र भुइँमा घाँटीमा डोरी कसिएको अवस्थामा फेला परेको थियो।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय धादिङ, ईलाका प्रहरी कार्यालय गजुरी र बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट कुकुरसहितको प्राविधिक टोलीले अनुसन्धान सुरू गरेको थियो।
अनुसन्धानका क्रममा अक्कलबहादुर, पृथलाल र सञ्चलालले चूडामणिको हत्या गरेको खुल्न आएको डीएसपी हमालले बताए।
प्रहरीले घटनामा प्रयोग भएको कोदालो, मृतकको घाँटीमा कसेको डोरी, अक्कलबहादुरको कोठाबाट एक लाख नगद, पक्राउ परेकाहरूले दिएको बयानअनुसार चूडामणिको फुटाएको मोबाइल फोन, चूडामणिबाट लिएको रकमबाट आरोपितहरूले खरिद गरेको एकै किसिमको कपडा र जुत्तालगायतका सामान बरामद गरेको छ।