
काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले संयुक्त सरकार भएकाले कांग्रेसले चाहेको अनुसार नै सबैथोक हुन नसक्ने बताएका छन्।
सर्लाहीको हरविन नगरपालिका–२ अत्रौलीमा सहिद सुखदेव महतोको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
संसदीय दलको बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमको व्यापक आलोचना भएको उनले बताए। निधिले नीति तथा कार्यक्रम एमालेकरण भएको भन्दै मन्त्री र सांसदहरूले आलोचना गरेको उल्लेख गरे।
‘संसदीय दलको बैठकमा नीति तथा कार्यक्रमको धेरै आलोचना भएको छ। एमालेकरण भयो भनेर मन्त्री र सांसदज्यूहरूले आलोचना गर्नुभएको छ,’ उनले भने,‘आलोचना गरेर पनि नीति कार्यक्रम पारित गर्नुपर्ने बाध्यता छ। कांग्रेस–एमालेबीच सहमति छ। सहमतिअनुसार पनि नीति तथा कार्यक्रम पारित गर्नैपर्ने हुन्छ।’
नीति तथा कार्यक्रममाथि रचनात्मक आलोचना गर्दै संसदबाट पारित गराउन सभापति शेरबहादुर देउवाले निर्देशन दिएको उनले बताए।
‘सभापतिज्यूले असहमति छ भने आलोचना गर्नुस्। तर, भोटिङको बेला पारित गरिदिनुस् भनेर भन्नु भएको छ। आलोचना गरेर पनि पारित गर्नुपर्ने हाम्रो लाइन भयो भनेर बुझिदिनुपर्यो,’ निधिले भने।
नेता निधिले १३ महिनापछि कांग्रेस सभापतिले सरकारको नेतृत्व गर्नुपर्ने भएकाले पनि वाध्यात्मक अवस्थाबाट पार्टी गुज्रिइरहेको जिकिर गरे। उनले २०८४ को निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
मंगलबार मनाइने सीता प्राकट्य दिवसको अवसरमा सार्वजनिक बिदा दिन संघीय सरकार र प्रदेश सरकारलाई आग्रह गरेको उनले बताए।
सीता नेपालकी छोरी भएकाले पनि सीता जयन्तीको अवसरमा सार्वजनिक बिदा दिनुपर्ने उनको भनाइ छ। निधिले प्रदेश सरकारले सीता जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी आफूलाई प्राप्त भएको उल्लेख गरे। आफू गृहमन्त्री छँदा सीता जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको उनले स्मरण गरे।
सहिद महतो नेपाली कांग्रेसप्रति प्रतिबद्ध र निडर छविको व्यक्ति रहेको स्मरण गर्दै सशस्त्र द्वन्द्वमा डर फैलाउन माओवादीले हत्या गरेको उनले बताए।
प्रतिष्ठानको भवन निर्माणका लागि महतोका छोराले दुई कठ्ठा जग्गा उपलब्ध गराएकोमा निधिले प्रशंसा गरे। आगामी निर्वाचनमा हरिवन नगरपालिकाबाट तीनवटै तहमा कांग्रेसले बहुमत प्राप्त गरे सहिद सुखदेव महतोप्रति सच्चा श्रद्धाञ्जली हुने उनले बताए।
सर्लाही जिल्लाको तत्कालीन अत्रौली गाविस उपाध्यक्ष महतोको २०५९ वैशाख २१ गते हत्या भएको थियो।