
काठमाडौँ- पछिल्लो चार महिनामा हवाईमार्गमार्फत नेपाल आउने विदेशी पर्यटक घटेका छन्। सन् २०२५ को पहिलो चार महिना (जनवरी, फेब्रुअरी, मार्च र अप्रिल) मा अघिल्लो वर्षको सोही अवधिको तुलनामा हवाईमार्गबाट आउने पर्यटकको संख्यामा १.२८ प्रतिशतले कमी आएको नेपाल पर्यटन बोर्डको विवरणमा उल्लेख छ। यस वर्षको अप्रिलमा भने धेरै संख्यामा पर्यटक आएर कीर्तिमान गरेको बोर्डको दाबी छ।
बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि अप्रिलसम्म कुल चार लाख १५ हजार ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। जुन सन् २०२४ को सोही अवधिमा आएका चार लाख २० हजार ४४६ पर्यटकको तुलनामा कम हो। अप्रिल २०२५ मा एक लाख १६ हजार ४९० पर्यटकको आगमन भएको थियो, जुन अहिलेसम्मकै सबैभन्दा बढी मासिक आगमन हो। जनवरी, फेब्रुअरी र मार्च महिनामा पर्यटक आगमन सन् २०२४ को तुलनामा घटेको देखिन्छ।
अप्रिलमा भारतबाट २५ हजार ९३३ पर्यटक आएर नेपालका लागि शीर्ष स्रोत मुलुक रह्यो। त्यसपछि क्रमशः अमेरिका (१० हजार ५३), चीन (नौ हजार ३७), बेलायत (६ हजार ७३८) र बंगलादेश (पाँच हजार ३९८) रहेका थिए।
अप्रिलमा सार्क क्षेत्रबाट सबैभन्दा बढी ३३ हजार ८९९ पर्यटक आए। यसले कुल पर्यटक आगमनको २९.१ प्रतिशत हिस्सा ओगटेको छ। त्यसपछि क्रमशः युरोपबाट ३० हजार २४९ (२६ प्रतिशत), एसिया (सार्कबाहेक) बाट २२ हजार १६७, अमेरिका क्षेत्रबाट १२ हजार ५५ र अन्य क्षेत्रबाट सात हजार ४४८ र ओसिनिया क्षेत्रबाट ६ हजार २३ पर्यटक नेपाल आएका थिए।