राष्ट्रकवि घिमिरेका कविता वाचन गर्दा भावविह्वल बने राष्ट्रपति पौडेल

हिमाल प्रेस २१ वैशाख २०८२ १५:२४
16
SHARES
राष्ट्रकवि घिमिरेका कविता वाचन गर्दा भावविह्वल बने राष्ट्रपति पौडेल राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजना र मर्स्याङ्दी वाङ्‌मय प्रतिष्ठानको सहआयोजनामा लमजुङ पुस्तुनमा आइतबार आयोजित राष्ट्रकवि घिमिरेको पूर्णकदको सालिक अनावरण कार्यक्रममा आइतबार सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर सौजन्य : शीतल निवास

लमजुङ- राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रकवि माधवप्रसाद घिमिरेको कविता वाचन गर्दा भावविह्वल बनेका छन्। लमजुङको पुस्तुनमा आइतबार आयोजित राष्ट्रकवि घिमिरेको पूर्णकदको सालिक अनावरण कार्यक्रममा  राष्ट्रकवि घिमिरेले आफ्नो गाउँ, पाखा, पखेराको व्याख्या गर्दै लेखेको ‘हामी दम्पती शान्ति, कान्ति कलिला माया र मोह भनी…’ भन्ने कविताका केही अंश वाचन गर्दा राष्ट्रपति पौडेल  भावविह्वल भएका हुन्।

राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजना र मर्स्याङ्दी वाङ्‌मय प्रतिष्ठानको सहआयोजनामा भएको कार्यक्रममा  राष्ट्रपति पौडेलले भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको र भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव एवम् पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू रहेको बताएका छन्। उनले यिनको संरक्षण, संवर्धन र विकास गर्नु हामी सबैको कर्तव्य भएको धारणा व्यक्त गरे।

राष्ट्रपति पौडेलले राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजना र मर्स्याङ्दी वाङ्‌मय प्रतिष्ठानको सहआयोजनामा लमजुङ पुस्तुनमा आइतबार आयोजित राष्ट्रकवि घिमिरेको पूर्णकदको सालिक अनावरण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उक्त विचार व्यक्त गरेका हुन्।

‘प्रतिभाका धनी स्रष्टा र साहित्यकारलाई समाज र सरकारले साथ, सहयोग र सम्मान गर्न कुनै कञ्जुस्याई गर्न हुँदैन भन्ने मलाइ लाग्दछ’, राष्ट्रपति पौडेलले भने।

विगतमा तत्कालीन पश्चिम ३ नम्बर लमजुङ, तनहुँ र कास्की भाषा, साहित्य, संस्कृति र कला मात्र नभई राजनीतिक र सामाजिक जागरणको उर्वर भूमि रहेको र लमजुङको हलो क्रान्तिले ल्याएको सामाजिक परिवर्तन र त्यसको जगमा गति लिएको राणाविरोधी आन्दोलनलाई पूर्णता दिन पुर्‍याएको सहयोगलाई कहिल्यै बिर्सन नहुने बताए। ‘जहानियाँ राणा शासनविरोधी क्रान्तिमा तनहुँको बन्दीपुर कब्जा गरेर यो क्षेत्रले देखाएको राजनीतिक जागरुकता र क्रियाशीलताको एउटा युगीन झड्का इतिहासमा चर्चित छ, तीनै राजनीतिक, समाजिक तथा सांस्कृतिक क्रान्तिको जगमा उभिएर आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो’, राष्ट्रपति पौडेलले भने।

ठूलो राजनीतिक परिवर्तनपछि जनताले मुलुकको समृद्धिको अपेक्षा गरेको तथा जनताको यो अपेक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रले लिएको लक्ष्यअनुसार अब तीव्र विकास, सुशासन र आर्थिक समृद्धितर्फ हामी सबैको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

‘कविशिरोमणि लेखनाथ पौड्यालको जन्मभूमि अर्घौअर्चले, जनकविकेशरी धर्मराज थापाको बाटुलेचौर, अलिमियाँको कुँडहरदेखि प्रसिद्ध समालोचक यदुनाथ खनालको जन्मभूमि मानुङ, आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा हुँदै राष्ट्रकविको जन्मथलो पुस्तुन बाहुनडाँडासम्मका स्थलहरुलाई समेटी एउटा गण्डकी साहित्य सर्कल (चक्र) निर्माणका लागि म आग्रह गर्दछु’, उनले भने।

यसै सन्दर्भमा तनहुँको आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल बनाउने योजना अघि बढेकोले यसमा सबैको सहयोगको लागि उनले आह्वान गरे। राष्ट्रकविको जन्मस्थान बाहुनडाँडा पुस्तुनमा उनको नाममा बनेको पार्क र निर्मित सालिकसँगै यस क्षेत्रको महत्त्व र गरिमा बढेर यो समग्र भाषा साहित्यप्रेमीहरूको एउटा आकर्षक गन्तव्यस्थलका रुपमा विकास हुने राष्ट्रपतिले विश्वास व्यक्त गरे।

‘गण्डकी प्रदेशको लमजुङ भाषा, साहित्य, संस्कृति र कलाको केन्द्र हो। यहाँका वस्ती र पाखापखेरामा प्रस्तुत हुने बालन, भजन, चुड्का, घाटु, सोरठी र ठाडो भाकामात्र होइन हिमालको काखमा अवस्थित यहाँको पहाडी रमणीय प्रकृतिले यसलाई स्रष्टा र साहित्यको लागि उर्वर वातावरण दिएको छ’, राष्ट्रपति पौडेलले भने। यसैको सेरोफेरोमा पूर्वीय जीवन र दर्शनलाई दिशाबोध गर्ने चार वेद र अठार पुराणका रचयिता वेदव्यास, नेपाली भाषासाहित्यलाई युगीन बाटोतर्फ डोर्‍याउने आदिकवि भानुभक्त र कविशिरोमणि लेखनाथ पौड्यालको जन्मभूमि रहेको प्रसंग पनि पौडेलले उल्लेख गरे।

‘यहाँको सुरम्य पहाडी, हिमाली र ग्रामीण जनजीवनको धुकधुकीलाई टपक्क टिपेर आफ्ना कैयौँ गीत, कविता, खण्डकाव्य, गीतिनाटकसहितका कालजयी रचना सिर्जना गर्ने राष्ट्रकवि घिमिरेको वैशिष्ट्यताले नेपाली साहित्यजगतलाई महत्त्वपूर्ण योगदान दिएको छ’, राष्ट्रपति पौडेलले भने।

उनका साहित्यिक सिर्जनामा हाम्रै पाखापखेराका नेपाली जनजीवनका भोगाइ, प्रकृति, संस्कृति र मानवीय संवेदनामात्र होइन राष्ट्रिय भावनाले ओतप्रोत भएको पाईन्छ भन्दै राष्ट्रपति पौडेलले यसबाट भाषा, साहित्यमात्र नभएर समग्र वाङ्‌मयको क्षेत्रलाई समृद्ध बनाउन र हाम्रो राष्ट्रिय स्वाभिमानको भावना अभिवृद्धि गर्न योगदान दिएको बताए।

‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे… होस् कि गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली… त्यसैका प्रमाण हुन्, अझ मानवीय करुणालाई सुक्ष्म संवेदनाका साथ प्रस्तुत गर्न सक्ने उहाँको क्षमता अद्भुत छ। आफ्ना रचनामा मानवीय संवेदना, प्रकृति र देशप्रेमको उज्यालो पक्षलाई जीवन्त प्रस्तुत गर्न सक्ने क्षमताका कारण उहाँ राष्ट्रकविको उचाइ धारण गर्न सफल हुनुभयो भन्ने मलाई लाग्छ’, राष्ट्रपति पौडेलले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast