
ललितपुर– ललितपुर महानगरले पर्यटकलाई लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ।
उक्त शौचालय आइतबारदेखि सञ्चालनमा आएको हो। शौचालय सञ्चालन भएको जानकारी दिन आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले विधि र प्रक्रिया पूरा गर्दागर्दै शौचालय निर्माणका लागि केही समय लागेको बताए।
उनले भने, ‘हाम्रो सहरको मौलिकता झल्कने गरी शौचालय बनाएका छौँ, यो शौचालयले अब आन्तरिक र बाह्य पर्यटकका लागि सहज हुन्छ।’ पाटन दरबार क्षेत्र घुम्न आउने पर्यटकलाई शौचालय खोज्न भौँतारिनु नपर्ने बताए। महानगर प्रमुख महर्जनले शौचालय निर्माण महानगरको मात्रै नभई सम्पूर्ण पालिकाका लागि ‘सो केस प्रोजेक्ट’ भएको बताए।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले आन्तरिक र बाह्य पर्यटकलाई शौचालय निर्माणले सहज बनाएको बताए।
महानगरका अनुसार कुल लागत एक करोड २६ लाखमा शौचालय निर्माण भएको हो।
यसअघि पाटन दरबार क्षेत्रमा सार्वजनिक शौचालय भए पनि यहाँको आवश्यकता पूर्ति गर्ने किसिमको थिएन।
आधुनिक प्रविधिको अपांगतामैत्री यो शौचालयमा पुरुषका लागि ६ वटा युरेनलसहितको तीनवटा शौचालय, महिलाका लागि ६ वटा शौचालय, एउटा अपांगगतामैत्री शौचालय, एउटा स्तनपान कक्ष राखिएको छ।