
काठमाडौँ- अहिले समाजमा वैवाहिक जीवनमा आइपर्ने मतभेदकाे अन्त नै सम्बन्ध विच्छेद हुन पुगेको छ। एकअर्काको गल्ती र कमीकमजोरी औँल्याउँदै कतिपय सम्बन्ध अदालतमा गएर टुंगिरहेको अवस्था छ। यसको विविध कारण होला तर नाटक ‘कथा-एक’ ले भने विच्छेद नै विकल्प नभएर क्षमामार्फत त्यही सम्बन्ध निरन्तरता दिनु उत्तम हुन सक्छ भन्ने सन्देश दिएको छ।
नाटक थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ। निर्देशक हुन्, कवि तथा रंगकर्मी अनुप न्यौपाने। नाटकमा उनले दुई प्रेम सम्बन्धको कथा देखाएका छन्। एक विवाहपछि सम्बन्धमा आउने उतारचढाव र अर्को भर्खरै अंकुराउँदै गरेको प्रेमकथा। नाटक यिनै चारजनाको कथा वरिपरि सकिएको छ।
नाटक झिनो कथा र थोरै पात्रमार्फत सम्बन्धमा हुने उतारचढाव मुख्य विषय बनाउँदै अघि बढेकाे छ। मतभेदकै कारण बहकिने प्रवृत्तिलाई क्रमश: वृत्तकारीय शैलीमा प्रस्तुत गरिएको छ।
प्रमुख पात्र हुन्, रिमा र आकिश अर्थात् वेदना राई र प्रेम शिलवाल विश्वकर्मा। नाटकमा विवाह भएको पाँच/छ वर्षपछि उनीहरूले प्रेमको अभाव महसुस गर्नु, मतभेद हुनु र अरूसँग बहकिनु, प्रेम खाेज्नुजस्ता प्रसंगमार्फत अहिलेकाे समयलाई सान्दर्भिक बनाउन खाेजिएकाे छ।
निर्देशक स्वयं कवि भएकाले उनले डेब्यु निर्देशनमा काव्यात्मक र सरल संवादको प्रयोग गरेका छन्। कवितामार्फत पात्रको मनोवृत्ति र भावनालाई बुझाउने प्रयत्न गरेको देखिन्छ। नाटकलाई रोचक बनाउन युवापुस्ताको प्रेमलाई कलाकार मिलन कार्की र सनम श्रेष्ठको अभिनयमार्फत व्यक्त गरिएको छ। उनीहरूकाे प्रेम माैलाउँदै गरेकाे देखाइन्छ। हिल चप्पल उपहार दिनेदेखि कफी सपमा समय बिताउने र संगीतमार्फत एकले अर्काप्रति खुसी साटिरहेकाे भावसहित उनीहरूबीचकाे संवादले दर्शकलाई केही रोमान्टिकतर्फ डोर्याएकाे छ।
अन्त्यतिर भने एक साथीको कथाले अर्कोलाई पनि त्यही असर गरिरहेको हुन्छ भन्ने कुरा पनि छुन खोजिएको छ। एकातिर उतारचढावपछि एक्लोपन महसुस गर्नु, एकले अर्कोको कुरा सुन्न नचाहानु, भावना बुझ्न नखोज्नु नै मानिस अरूतिर आकर्षित हुन पुगेको देखाइन्छ। बहकाउमा जसरी प्रस्तुतीकरण त्यो भाव आउन नसकेकाे हाेकि भन्ने भान हुन्छ। कथाशैलीकाे प्रस्तुतिमा पात्रबीच देखाउन खाेजेकाे बन्धन वास्तविक भन्दा नाट्यशैली बढी हाबी भइरहेकाे जस्ताे देखिन्छ।
तथापि आधुनिक शैलीकै महिलाकाे पहिरन, मेकअप काेठाले मञ्चलाई थप आकर्षित बनाएकाे छ। मञ्चकै एक कुनातिर कफी सप, अर्काेतिर रेस्टुरेन्टकाे प्रयाेगले थप आकर्षित बनाएकाे छ। नाटकको कथा निर्देशक न्यौपानेसहित र प्रेम शिलवाल विश्वकर्माले लेखेका हुन्। नाटकमा वेदना राई, प्रेम शिलवाल विश्वकर्मा, मिलन कार्की, सम्योग गुरागाईं, सनम श्रेष्ठ, कृस्टिना बस्नेत र अजय कार्कीको अभिनय छ। नाटक यही २८ वैशाखसम्म चल्नेछ।
तस्बिर: मण्डला थिएटर