सडक विस्तार र वर्षा एकैसाथ, यात्रा कष्टकर

हिमाल प्रेस २१ वैशाख २०८२ ११:१९
16
SHARES
सडक विस्तार र वर्षा एकैसाथ, यात्रा कष्टकर वर्षाका कारण अवरुद्ध कान्ति लोकपथको बागमती–भीमफेदी खण्ड।

काठमाडौँ- अविरल वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध भएको छ। भक्तपुरको सूर्यविनायक-जगाती सडकमा आवत जावत गर्न समस्या भएको छ। जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले वर्षाका कारण भक्तपुरको सूर्यविनायक-जगाती हुँदै काभ्रेपलाञ्चोक जाने निर्माणाधीन सडक एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए।

भक्तपुर र काभ्रे जिल्ला जोड्ने राजमार्गमा ६ लेनको सडक विस्तार भइरहेको छ। काभ्रेको साँगा र भक्तपुरतर्फ आउने सडकमध्ये भक्तपुर खण्ड वर्षाका कारण जोखिम बढेपछि अरनिको राजमार्ग एकतर्फी मात्र सञ्चालन गर्नुपरेको हो।

सडकमा सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्र साँगबाट आउन दिइएको छ। उनका अनुसार भक्तपुर हुँदै काभ्रे जाने दुईपांग्रेलगायत हल्का चार पांग्रे सवारीसाधन जगातीबाट च्याम्हसिं हुँदै ताथली-नाला सडकबाट बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ।

भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक सवारीसाधनलाई भने सल्लाघारीको चौर र जगातीमै रोकिएको छ। सूर्यविनायक-धुलिखेल सडकखण्ड निर्माणाधीन अवस्थामा रहेका कारण साँगा खण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुने गरेको छ।

यसैगरी अविरल वर्षका कारण कान्ति राजपथ पूर्ण रूपमा अवरोध भएको नेपाल प्रहरीले जनाएको छ। वर्षाका कारण बागमतीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि बिहान ६ बजेदेखि सवारीसाधन आवतजावत अवरुद्ध भएको हो। अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ। अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पर्ने कृष्णभीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकमा पर्ने अरनिको राजमार्गअन्तर्गतको भोटेकोशी गाउँपालिका-२ कोप्लाङमा पहिरो जाँदा साना सवारीसाधन एकतर्फी रूपमा साना सवारीसाधन मात्र सञ्चालन भएको छ।

यसैगरी वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक अवरुद्ध भएको छ। सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।

सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्नसमेत प्रहरीले आग्रह गरेको छ। सडक विस्तारको काम तीव्र पार्न दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ।

प्रकाशित: २१ वैशाख २०८२ ११:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast