
मकवानपुर– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शन र सिद्धान्तलाई युवा पुस्तामा हस्तान्तरण गर्न सकेमात्र गणतन्त्र र राष्ट्रियतालाई जीवन्त पार्न सकिने धारणा राखेकी छन्।
उनले मदन भण्डारी फाउन्डेसन मकवानपुरको चौथो साधारणसभा तथा श्री चन्द्र शर्मा स्मृति सम्मान कार्यक्रमको हेटौँडामा उद्घाटन गर्दै सिङ्गो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर मुलुकमा नयाँ सोच र चिन्तनका साथ जनतालाई सामाजिक र आर्थिक क्षेत्रमा रुपान्तरण गर्न राजनीतिक दलहरूले समीक्षा गरेर अघि बढ्नुपर्ने चुनौती आएको उल्लेख गरिन्।
भण्डारीले जनताले केही दशकदेखि जनताको बहुदलीय जनवादलाई निर्वाचनको माध्यमबाट अनुमोदन गरिसकेकाले प्रमुख दलहरूले सत्ता प्राप्तिको प्रतिस्पर्धाको भन्दा जनताको समस्यालई पहिचान गरेर समाधानका लागि केन्द्रित हुँदै विकासका लागि राजनीति गर्न आह्वान गरिन्।
उनले नेकपा (एमाले) ले विसं २०४७ मा घोषण गरिएको नेपालको संविधान, २०४७ लाई करिब २७ बुदाँको आलोचनात्मक समर्थन गरेको उल्लेख भए पनि त्यसको सार्थक रूपमा विसं २०६२र६३ को जनआन्दोलनबाट गणतान्त्रिक व्यवस्था ल्याउँदाको सफलताबाट प्राप्त भएको बताइन्।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले नेपालको संविधान, २०७२ को मर्मअनुसार स्थायी सरकारको संरचनाअनुसार निर्वाचनको माध्यमबाट प्रदेश सरकारको गठन भइसकेको उल्लेख गर्दै संघीय, प्रदेश र स्थानीय सरकारले जनताका आधारभूत आवश्यकता, विकास, आर्थिक रुपान्तरणका लागि राष्ट्रिय गौरवको आयोजना, बहुवर्षीय योजनाको छनोट गरी बजेट विनियोजित गर्नुपर्नेमा जोड दिए।