
काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इतिहासलाई पछाडि फर्काउने खोज्ने प्रतिगामीहरुलाई गतिलो जवाफ दिने बताएका छन्।
शनिबार काठमाडौंमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको प्रथम बागमती प्रदेश अधिवेशन उद्घाटन गर्दै प्रचण्डले अहिले पनि यथास्थीतिवादी र प्रतिगामीहरुले इतिहासलाई पछाडि फर्काउने र प्राप्त उपलब्धीहरुलाई खोस्ने दुस्साहस गरेको भन्दै गतिलो जवाफ दिने बताए।
अहिले सडक र सदनबाट माओवादीले खबरदारी गरिरहेकाले आवश्यक परे ठूलो आन्दोलनसमेत गर्ने उनले बताए।
प्रचण्डले समग्रमा सबैतर्फ माओवादीको गतिशिलता बढेको र जनताको विश्वास पनि बढ्दै गएकाले आफ्नै खुट्टामा आगामी चूनाव लड्ने आधार तयार हुँदै गएको धारणा राखे। प्रचण्डले ८४ को निर्वाचनमा माओवादी पहिलो पार्टी भएर समाजवादको आधार पारेरै छाड्ने उद्घोष गरे।
उनले सामाजिक सञ्जालमा माओवादी एक नम्बरतिर उकालो लाग्दै गरेको भन्दै त्यसले जनमतलाई आकर्षित गरेको बताए।