
इटहरी– कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्षका रूपमा मनाइरहेको छ। कोशी प्रदेशको आन्तरिक पर्यटन प्रवद्र्धन र बाह्य पर्यटकलाई यहाँका रमणीय दृश्य घुमाउने उद्देश्यले सुरू भएको पर्यटन वर्षले यस क्षेत्रको उन्नयनमा भूमिका खेल्ने बताइन्छ।
यसैबीच प्रदेश सरकारले लगानी सम्मेलनको आयोजना गरेको छ। प्रदेश राजधानी विराटनगरका बिहीवार र शुक्रवार गरी दुई दिन लगानी सम्मेलनको आयोजना भयो। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सम्मेलनको शुक्रवार समापन भयो।
सम्मेलनमा ४६ वटा परियोजनाको एमओयू भएको छ। प्रदेश सरकारले ७१ वटा परियोजना सोकेसिङ गरेपनि ४६ वटा परियोजनाको एमओयू भएको हो।
निजी क्षेत्रका १९ र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना एमओयू भएका हुन्। परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो। तर सम्मेलनमा एक खर्ब ५२ अर्ब १६ करोडको परियोजनामा एमओयू भएको प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।
उनले प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्नेगरी सरकार अगाडि बढेको बताए।
खासगरी एमओयू भएका परियोजनामध्ये सबैभन्दा बढी उद्योगमा सम्झौता भएका छन्। प्रदेश लगानी प्राधिकरणका अनुसार उद्योगका १२ परियोजनामा ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजनामा ३८ अर्ब ४१ करोड, पर्यटनको १० परियोजनाका ३४ अर्ब १९ करोड, ऊर्जामा तीन परियोजनामा आठ अर्ब ६२ करोड, कृषिका आठ परियोजनामा ३ अर्ब, फोहोर मैला व्यवस्थापनको ६० करोड र सूचना प्रविधिका दुई परियोजनामा ४७ करोडको एमओयू भएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला र लगानीकर्ताहरू बीच उक्त एमओयुमा सम्झौता भएको हो।
मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन ऐतिहासिक भएको बताए। उनले लगानीका लागि कोशी प्रदेश उपयुक्त रहेकोसमेत बताए।
खासगरी कोशी प्रदेश कृषि र पर्यटनका लागि सबैभन्दा उपयुक्त भूगोल रहेको विज्ञहरूको तर्क छ। विश्वको सर्वोच्च शिखर सगरमाथादेखि नेपालको सबैभन्दा होचो ठाउँ कचनकवलसम्म यही प्रदेशमा पर्ने भएकाले पनि यहाँ पर्यटन क्षेत्रमा लगानी गर्नेहरूको आकर्षण देखिन्छ।
तराई, पहाड र हिमालसम्मको प्रदेश कोशी भएकाले पनि यहाँ कृषि र पर्यटनको क्षेत्रमा लगानी गर्ने उपयुक्त समय भएको विज्ञहरू बताउँछन्।
लगानी सम्मेलनमा पर्यटनको सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले विश्व पर्यटन बजारमा पर्यटकको ‘ट्रेन्ड’ फेरिएको सुनाए।
पहिलेपहिले मानिसहरू जीवन बाँच्नका निम्ति घुमफिर गर्ने भए पनि अहिले भने फरक रहेको उनको भनाइ थियो। ‘पहिला–पहिला सुविधायुक्त जीवन जिउन मानिसहरू घुमफिर गर्ने गर्थे,’ उनी भन्छन्, ‘अहिले आएर नभोगेको जीवन जिउन पाइने गन्तव्यहरू खोज्दै पर्यटकहरू हिँडिरहेका छन्। प्राकृतिक सौन्दर्ययता, एड्भेन्चर विविधताले गर्दा पर्यटकका लागि नेपाल गन्तव्य हुन सक्छ।’
जोशीले पर्यटन व्यवसायमा पनि प्रविधिको प्रवेश भएकाले प्रविधि मार्फत नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसार भइरहेको बताए। उनले भने, ‘अबको गन्तव्य नेपालजस्ता मुलुकहरू हुन्। त्यसैले नेपालको पर्यटन क्षेत्रमा लगानी गरे प्रतिफल हासिल हुन्छ।’
कृषि क्षेत्रका विज्ञ डा. तिलचन्द्र भट्टराईले कोशी प्रदेशका रैथाने बालीहरूको व्यावसायिक र आधुनिकीकरणमा लगानी गर्ने उपयुक्त समय भएको बताए।
उनले भने, ‘हाम्रा आफ्ना चिजहरूको हामीले प्रवद्र्धन गर्न सकेका छैनौँ। प्रवद्र्धनका लागि ठूलो लगानीको खाँचो छ। कोदो, फापर अलैँची, अदुवा, चियाजस्ता क्षेत्रमा ठूलो लगानीको खाँचो रहेको छ। लगानीविना प्रतिफल हुन सक्दैन। यसका लागि सरकारले नीति र कानुनहरूसमेत लगानीमैत्री बनाउनुपर्छ।’
उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत लगानीमैत्री वातावरण बनाउनका लागि विद्यामान नीति नियमहरूमा परिमार्जन गर्नुपर्ने बताउँछन्।
झन्झटिलो प्रक्रियाका कारण लगानीकर्ताहरूलाई फाइदा नहुने भएकाले लगानीकर्ताहरू आकर्षित हुन नसकिरहेको उदृत गर्दै उनले लगानी गर्नका निम्ति सरकारले वातावरण बनाउनुपर्ने बताए।
उनले भने, ‘एउटा उद्योग दर्ता गर्नका लागि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट निकाल्नै १० महिना कुर्न पर्छ। यसले गर्दा तीन वर्षमा सम्पन्न गर्ने प्रोजेक्ट सम्पन्न गर्न ६ वर्ष लाग्छ। त्यतिन्जेलमा लगानीकर्तालाई बैँकको ब्याजले मारिसकेको हुन्छ। तसर्थ, यस कुरामा पनि ध्यान दिनुपर्छ।’
अहिले प्रदेश सरकारकै अगुवाईमा लगानी सम्मेलनको आयोजना हुँदा आफूहरू हर्षित भएको उनको भनाइ थियो। राउतले थपे, ‘अहिले वातावरण बनेको छ, हामी खुसी नै छौँ।’
सरकारले लगानीको वातावरण बनाइदिएमा लगानीकर्ताहरू आकर्षित हुने उनको भनाइ छ।
खासगरी प्रदेश सरकारले गरेको लगानी सम्मेलनले लगानीकर्ताका लागि केही नयाँ आशा जगाएको उनको आशय थियो।
कोशी प्रदेश सरकारले गत चैत २७ गते तेह्रथुमको टीएमजे क्षेत्रबाट पर्यटन वर्ष सुरू भएको जनाउँदै उद्घाटन गरेको छ। यसले पनि पर्यटन व्यवसायीका लागि लगानी गर्ने वातावरणसमेत सिर्जना भएको जानकारहरू बताउँछन्।
पर्यटन व्यवसायी बासुदेव बराल भन्छन्, ‘पूर्वाधारका कारण अन्य प्रदेशभन्दा कोशी प्रदेश कमजोर छ। हामीले यसअघि पर्यटनबाट प्रतिफल पाएका थिएनौँ। अब लगानी सम्मेलनका कारण लगानीको पहिचान भयो। यो सकारात्मक पक्ष हो।’
लगानी सम्मेलनका कारण पर्यटन क्षेत्रमा पनि लगानी भित्रिने अवस्था आएको उनले सुनाए। पर्यटनका क्षेत्रमा सिमसार तथा मासिदैँ गएका तालतलैयाको संरक्षण, प्रबद्र्धन र त्यस क्षेत्रमा पर्यटकको आवागमनका निम्ति सक्रिय बनाउनेगरी लगानीको तयारी हुनु, रिसोर्ट तथा ठूला होटलहरूमा लगानीको आकर्षण हुनु, केबलकार निर्माणको तयारी हुनुजस्ता कुराले पर्यटनमा लगानी भइरहेको बराल बताउँछन्।
‘लगानीकर्ताहरू लगानीका लागि आकर्षित भएपनि त्यसपछाडि कसैले साथ दिएको अवस्था थिएन,’ बरालले हिमालप्रेससँग भने, ‘लगानीका लागि पुँजीको आवश्यकता छ भनेर सुरू गर्दा अब बैँकले पनि सहयोग गर्ने र सरकारले पनि समन्वयकारी भूमिका निर्वाह गर्दा लगानी गर्न सहज हुने आशा राख्न सकिन्छ।’
पूर्वाधार निर्माणमा पनि लगानी भित्रिने अवस्था बन्नु, बैँकले लगानीकर्तालाई विश्वास गर्नु, सरकारले समन्वय गर्नु, ब्याज अनुदान दिनेजस्ता नयाँ कुराले लगानीकर्ताका निम्ति आशा जगाउने काम हुनु सकारात्मक पक्ष रहेको उनले बताए।
‘ब्याज अनुदान दिनेजस्ता सरकारको मनस्थिति छ। यो सकारात्मक र महत्वपूर्ण कुरा हो,’ उनले थपे, ‘अहिले लगानीका लागि ढोका देख्ने काम भयो। अब ढोका खोल्ने काम हाम्रो भयो।’