
इटहरी– मोरङमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका किशोर बुढाथोकी नगद एक लाखसहित पुरस्कृत भएका छन्। शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ मोरङ शाखाले बुढाथोकीलाई नगदसहित पुरस्कार प्रदान गरेको हो।
बुढाथोकीलाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार, २०८१ प्रदान गरिएको हो। पुरस्कारको राशि एक लाख एक सय रूपैयाँ रहेको छ।
भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछा (साविकको तुङ्गेछा गाविस–१) घर भएका बुढाथोकी दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन्। संखुवासभाबाट पत्रकारिताको यात्रा सुरु गरेका बुढाथोकी २०६८ सालदेखि विराटनगरमा रहेर पत्रकारिता गर्दै आएका छन्।
साथै, षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार झापाका पत्रकार सुरेन्द्र भण्डारीलाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि २५ हजार २५ रूपैयाँ रहेको छ।
उनीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पुरस्कार हस्तान्तरण गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्की र मेयर कोइरालाले सूचनाको हकको प्रवर्धन एवं प्रभावकारी कार्यान्वयनका लागि आफूहरु प्रतिबद्ध रहेको बताए।
उक्त पुरस्कार सूचनाको हकको क्षेत्रमा क्रियाशील रहेर नीति निर्माण, सुशासन एवं पारदर्शिताको पक्षमा काम गर्ने, सूचनाको हकको प्रवद्र्धन, नागरिक जागरण र प्रचारप्रसारमा सक्रिय व्यक्तिलाई प्रदान गर्ने गरिन्छ।
प्रत्येक वर्ष नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गरिँदै आएको थियो। यस वर्ष पनि चैत १६ गते महासंघको ७० औँ स्थापना दिवसको अवसरमा पुरस्कार वितरण समारोह राखिएको थियो।
तर, काठमाडौँमा राजावादीको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको निधन भएपछि पत्रकार महासंघ आन्दोलित बनेको थियो। जसका कारण पुरस्कार वितरण कार्यक्रम सरेको थियो।
महासंघ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण एवं अग्रज पत्रकार सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका पूर्वअध्यक्षहरू विक्रम लुइँटेल, लीलाबल्लभ घिमिरे, पत्रकार महासंघका प्रदेश अध्यक्ष भरत खड्का, महासंघका केन्द्रीय सदस्य कमल रिमाललगायतले मन्तव्य राखेका थिए।
पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष एवं अग्रज पत्रकार यज्ञ शर्माले पुरस्कृत हुनेहरूको पृष्ठभूमिका बारेमा जानकारी गराएका थिए। उक्त अवसरमा शर्मालाई सम्मानसमेत गरियो।
नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीका अनुसार सिफारिस समितिको सिफारिसका आधारमा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण गरिएको हो।
महासंघ मोरङ अध्यक्ष पाठकको संयोजकत्वमा रहेको तीन सदस्यीय सिफारिस समितिमा महासंघ मोरङका पूर्वअध्यक्ष एवं अग्रज पत्रकार यज्ञ शर्मा र दाता परिवारका तर्फबाट केदारबहादुर बस्नेत रहेका छन्।
षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार यसअघि नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरू तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा, अग्रज पत्रकार एवं सूचनाको हकका अभियन्ता गजेन्द्र बुढाथोकी, सूचनाको हकका अभियन्ताहरु काशीराज दाहाल र स्वः विनय कसजूलाई प्रदान गरिसकिएको छ।