सरकारको नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न सांसदहरूलाई ओलीको निर्देशन

हिमाल प्रेस २० वैशाख २०८२ १५:२६
18
SHARES
सरकारको नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न सांसदहरूलाई ओलीको निर्देशन प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ– प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढुक्कका साथ सरकारको नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सरकारले सुशासन र सामाजिक न्यायको पक्षलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको भन्दै ढुक्कका साथ सदनमा प्रतिरक्षा गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन्।

ओलीले विपक्षी भएपछि राम्रो कुराको पनि विरोध गर्ने भाष्य निर्माण भएकाले त्यसलाई सामान्य ढंगबाट लिन सांसदहरूलाई आग्रह गरे।

‘विपक्षी भएपछि जे भए पनि विरोध गर्नुपर्छ भन्ने लागेको छ, कुनै एउटा बुँदाको पनि विपक्षीहरूले समर्थन गर्ने छैन, केहीको पनि समर्थन गर्दैन किनभने विपक्षी हो,’ उनले भने,‘त्यसैले विपक्षीले भनेको कुरामा सत्यता छ भनेर धेरै घोत्लिनुपर्ने आवश्यकता छैन। किनभने सत्य भए पनि असत्य भए पनि उहाँहरूले विरोध गरिहाल्नु हुन्छ। असत्य हामीले लेखेकै छैनौँ, उहाँहरूले विरोध गर्ने भनेको सत्यकै हो।’

उनले विपक्षीको काम नै विरोध गर्ने भएकाले त्यस्ता कुरामा नअल्मिनसमेत सुझाव दिए। ओलीले देश र जनतालाई सर्वोपरी राखेर सरकार अघि बढिरहेको बताए।

विपक्षीहरुले सदनमा गलत बोल्ने गरेको भन्दै उनीहरूले गलत बोल्नेको कुरा पछिको पुस्ताले थाहा पाउने भएकाले रेडर्कमा राखिरहनुपर्ने उल्ल्ेख गरे। विपक्षीहरुले जनतामा भ्रम पार्न खोजे तत्काल खण्डन गर्न उनले पार्टीका सांसदहरूलाई निर्देशन दिए। ओलीले सदनमा चिप्लने खालको नभइ स्पष्ट रुपमा सदनमा धारणा राख्न समेत आफ्ना सांसदहरुलाई निर्देश दिए।

प्रधानमन्त्री ओलीले देशमा स्थिरता र स्थायित्व कायम राख्दै सुशासनको राम्रो प्रबन्ध गरी अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको स्पष्ट पारे।

समाजमा वञ्चितहरुको पहुँचवृद्धि हुनुुपर्छ भन्नेमा स्पष्टताका साथ सरकार अघि बढेको बताउँदै उनले राष्ट्रिय र मानवीय हितलाई केन्द्रमा राखेर छिमेक तथा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै आएको स्मरण गरे।

प्रकाशित: २० वैशाख २०८२ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast