
लुम्बिनी- २५६९ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसको तयारी सुरु भएको छ। लुम्बिनी विकास कोषले आउँदो बैशाख २९ गते परेको बुद्धजयन्तीलाई भव्यताका साथ मनाउन विभिन्न उपसमिति गठन गरी तयारी गरिरहेको छ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेको अध्यक्षतमा बसेको बैठकले तयारीका लागि मूल व्यवस्थपन समिति लगायतका विभिन्न उपसमिति गठन गरी तयारीका कामहरु भइरहेको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिए।
उनका अनुसार उपाध्यक्ष डा. ल्हारक्याल लामाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ। बैशाख २८, २९ र ३० गते तीन दिनसम्म विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती भव्यताका साथ मनाउने तयारीमा जुटेको कोषाध्यक्ष भट्टराईले बताए।
२९ गते बुद्धजयन्ती मूल समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीसहितका विशिष्ट पाहुनाको सहभागिता हुने जनाइएको छ। लुम्बिनीसँगै देवदह, रामग्राम र कपिलबस्तुमा समेत बिशेष कार्यक्रमहरु हुनेछन्। यसैबीच बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको प्रचारप्रसार उपसमितिको बैठक बसेको छ।
उपसमितिका संयोजक भट्टराईले लुम्बिनी बुद्धजन्मस्थल भएकाले बुद्धजयन्तीको अवसरमा सबै क्षेत्रबाट सहयोग र लुम्बिनीको प्रवर्द्धनमा सहयोग गर्न सेमत अपिल गरेका छन्। बुद्धजयन्ती एवं लुम्बिनी दिवसमा सहभागी भई बौद्ध दर्शन, संस्कृति र विश्व शान्तिको महत्व उजागर गर्ने कार्यमा सरिक हुन कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईले आग्रह गरे ।