
पोखरा- प्रतिविम्ब वांगमय प्रतिष्ठानले पोखरामा पहिलोपल्ट वसन्त काव्य महोत्सव आयोजना गरेको छ। जनकविकेशरी धर्मराज थापाको शतवार्षिकी अवसरमा पोखरामा शुक्रबारदेखि सुरु महोत्सवमा विविध साहित्यिक कार्यक्रम भएका छन्।
२ दिनसम्म चल्ने महोत्सवको उद्घाटनमा नेपाली भाषा, साहित्य, कला क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भाषाविद् मुकुन्दशरण उपाध्याय, साहित्यकार सरुभक्त र गजलकार ज्ञानुवाकर पौडेललाई सम्मान गरियो।
उनीहरूलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलगायतले दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरे। मुख्यमन्त्री पाण्डेले महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश नेपाली भाषा, साहित्य र संस्कृतिको उर्वरभूमि भएको बताए।
सो अवसरमा जनकविकेशरी थापासहित कवि एवं मुक्तककार भूपी शेरचनमा समर्पित कविता वाचन, गायन, नृत्य प्रस्तुत गरियो । साथै, नेपाली मुक्तकमा पोखरा परिचर्चा भयो।
दोस्रो दिन नेपाली गजल एवं नेपाली कविताबारे पोखरा परिचर्चा, कविशिरोमणि लेखनाथ पौडेलमा समर्पित कविता वाचन एवं मनु ब्राजाकीमा समर्पित गजल वाचनलगायत कार्यक्रम रहेको प्रतिष्ठान सदस्य बुद्धिबहादुर खत्री क्षत्रीले जानकारी दिए।
कार्यक्रममा गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, सम्मानित स्रष्टा मुकुुन्दरशण उपाध्याय, महोत्सवका सल्लाहकार तीर्थ श्रेष्ठ, लोकगायिका एवं प्राज्ञ हरिदेवी कोइराला, धर्मराज सावित्री थापा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनराज थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। गायक रामभक्त जोजिजू र इतू जोजिजूले जनकविकेशरी थापाको स्मरणमा ‘सिरिमासिरी कान्छा’ बोलको गीत गाए। जनकविकेशरीले रचना गरेको यो गीतमा नारायण गोपाल र ज्ञानु राणाको स्वर छ।
जनकविकेशरीका ज्येष्ठ सुपुत्र मदनराज थापासँग मिलेर मिलन गुरुङले ‘हरियो डाँडामाथि हलो जोत्ने साथी’ गीत गाउँदा हल गुञ्जायमान बनेको थियो। आगामी वर्षमा पनि वसन्त काव्य महोत्सवलाई निरन्तरता दिइने प्रतिष्ठान अध्यक्ष शिवहरि आचार्यले बताए।
महोत्सवमा पोखरासहित नेपालका विभिन्न जिल्लाबाट आएका साहित्यकारको जमघट छ। विसं १९८१ साउन १ मा जन्मिएका जनकविकेशरी थापाको २०७१ मंसिर २८ मा स्वर्गारोहण भएको थियो। बहुप्रतिभाशाली उनका कविता, गीत, नाटक, निबन्ध लगायत ४१ कृति प्रकाशित छन्।