मलेसियाको बटुक केभ र खोटाङको हलेसी गुफा

ईश्वर पोखरेल २० वैशाख २०८२ १४:२८
82
SHARES
मलेसियाको बटुक केभ र खोटाङको हलेसी गुफा बटुक केभको बाहिरी भागमा रहेको कार्तिकेयको मूर्ति र हलेसी महादेवको गर्भगृहमा बौद्धग्रन्थ पाठ गर्दै बौद्धमार्गी।
मलेसिया दक्षिणपूर्वी एसियामा अवस्थित देश हो। यो १३ राज्य र तीन संघीय प्रदेशमा विभाजित छ। यसको क्षेत्रफल ३ लाख ३० हजार ५२४ वर्ग किलोमिटर छ। सन् २०२३ को मध्यतिर यस देशको जनसंख्या तीन करोड ४२ लाख अनुमान गरिएको थियो।

मलेसियाली सरकारले सन् २०२० मा गरेको जनगणनामा यहाँ ६३. ५ प्रतिशत इस्लाम, १८.७ प्रतिशत बौद्ध, ९.१ प्रतिशत क्रिस्चियन, ६.१ प्रतिशत हिन्दू, ०. ९ प्रतिशत अन्य (एमिनिस्ट, कन्फ्युसियनिस्ट, ताओवादी, शिख र बहाई धार्मिक समूह) र १.८ प्रतिशत धर्मप्रति उदासीन जनसंख्या रहेका छन्।

मलेसिया इस्लामबहुल मुलुक हो। यहाँ हिन्दू चौथो ठूलो धर्म हो। मलेसियाको सेलांगल राज्यमा हिन्दूहरूका बीचमा प्रसिद्ध बटुक/कार्तिकेयको मन्दिर छ। हिन्दू धर्मग्रन्थमा कार्तिकेयलाई युद्धका देवता वा देवताहरूका सेनाध्यक्षका रूपमा चित्रण गरिएको पाइन्छ। यिनलाई षडानन, षण्मुख, स्कन्ध र सुब्रमण्यम पनि भनिन्छ। यी एकादश रुद्रमध्ये एक रुद्र हुन्। कार्तिकेयको मन्दिर तामिलको बसोबास रहेको श्रीलंका, सिंगापुर, इन्डोनेसिया र मलेसियामा छन्।

वटुक/कार्तिकेय हिन्दू धर्मग्रन्थहरूमा उत्पादक, रक्षक र ब्रह्माण्डको विनाशकर्ताका रूपमा चित्रित शिव र प्रजनन, प्रेम र भक्तिकी हिन्दू देवीको रूपमा चित्रित पार्वतीका कान्छा सन्तान हुन्। यिनलाई शिवको ज्योति र बुद्धिको अवतार मानिन्छ। यी गणेशका कान्छा भाइ हुन् र योद्धाका रूपमा चित्रित छन्। कार्तिकेय दक्षिण भारतलाई मूल थलोका रूपमा अपनाउने तामिलका आराध्य देव हुन्।

११ दिने पर्यटकीय भ्रमणका क्रममा हामी पहिले सिंगापुर गयौँ अनि मलेसियाको मलेका र पेनाङको जर्जटाउनपछि क्वालालाम्पुर आइपुग्यौँ। भ्रमणको दसौँ दिन क्वालालाम्पुरबाट बिहान बसमा हामी २४ अक्टोबर २०२३ मा ‘बटुक केभ’ मा पर्यटकका रूपमा पुगेका थियौँ। बटुक केभ क्वालालाम्पुरबाट उत्तर पहाडको काखमा अवस्थित छ। क्वालालाम्पुरबाट  बटुक केभसम्मको दूरी १५  किलोमिटर छ।

बसमा हामीलाई टुरिस्ट गाइडले बटुक केभको उत्पत्तिका बारेमा विस्तारपूर्वक बताएका थिए। यसबाहेक हिन्दू धर्मावलम्बीका बीच यस मन्दिरको विश्वव्यापी महत्त्वबारे व्याख्या गरेको थियो। पर्यटकहरू किन बटुक केभ आउन मरिमेट्छन् भन्ने बारेमा पनि उसले राम्ररी बताइदियो। मलेसियाको पर्यटन उद्योगमा बटुक केभको योगदान सम्बन्धमा विवेचना गरी उसले खुलस्त पारेको थियो।

बटुक केभको गर्भगृहमा रहेका कार्तिकेयको मूर्ति र गर्भगृह।
बटुक केभ गुफामा रहेको मन्दिर हो। भनिन्छ- यो गुफा ४० करोड वर्ष पुरानो हो र प्रारम्भमा यस गुफालाई ओराङ अस्ली जनजातिका टेमुआन समुदायले आश्रयका रूपमा अपनाएका हुन्। सन् १८९० मा मलेसियन भारतीय व्यापारी के थाम्बुसामी पिल्लिईले यस गुफामा कार्तिकेयको मूर्ति स्थापना गरेका थिए।

सन् १८९१ मा त्यो मूर्तिलाई मन्दिर बनाई संरक्षण प्रदान गरिएको हो।  गुफामा अवस्थित यही मन्दिर ‘बटुक केभ’को नामबाट विश्वप्रसिद्ध छ। यहाँ मुख्य मन्दिरमा पुग्नका लागि सिँढी उक्लिनुपर्छ। सिँढीमा २७२ खुट्किला छन्।

सिँढीको फेदमा १४० फिट अग्लो वटुक/कार्तिकेयको मूर्ति छ। भनिन्छ- मूर्तिको निर्माणमा तीन टन स्टिलबार, पाँच लाख लिटर सुनको रङ र २५० घनमिटर कंक्रिट लागेको थियो। यो ४३ वर्ष समयावधि लगाएर निर्माण गरिएको मूर्ति हो।

यो वटुक/कार्तिकेयको विश्वमा सबैभन्दा अग्लो मूर्ति हो।

मन्दिरमा पहेँलो वस्त्र लगाएका भक्तहरू माटाको भाँडालाई फूल र चराका प्वाँखले रंगाएर भाँडामा दूध बोकेर सिँढी उक्लिरहेका भेटिन्छन्। मन्दिर दर्शनका दिन भक्तहरू सुंघाई बाटु नदीमा स्नान गर्छन्। यहाँ प्रत्येक वर्ष जनवरी १४ र फेब्रुअरी १५ को बीचमा थाइपुसम नामको ठूलो धार्मिक मेला लाग्छ। तीन दिनसम्म लाग्ने मेलामा मलेसिया र अन्य देशबाट भक्तजन र पर्यटक गरी झन्डै १५ लाख मानिसले मन्दिरमा प्रवेश गर्छन्।

बटुक केभ विश्व प्रसिद्ध मन्दिर हो। यस मन्दिरमा सबै धर्मावलम्बीहरूलाई प्रवेश खुला छ। यहाँ बर्सेनि लाखौँको संख्यामा हिन्दू तीर्थयात्री र पर्यटकहरू पुग्ने गर्छन्। यो मन्दिर जमिनबाट झन्डै १०० मिटर उचाइमा छ। यहाँ २७२ खुट्किला रहेका सिँढीलाई विविध रङले रंगाएर अत्यन्त आकर्षक बनाइएको छ।

यहाँ तीन मुख्य गुफा छन् र अन्य ससाना गुफा पनि छन्। यी गुफामध्ये मुख्य गुफालाई ‘टेम्पल केभ’ नामबाट चिनिन्छ। मुख्य गुफामा आकाश हेर्न सकिने जमिनको खुला भाग छ।

हलेसी महादेव

नेपालको पूर्वी पहाडमा अवस्थित खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबाट २४ किलोमिटर पश्चिम हलेसी महादेव नामक प्रसिद्ध तीर्थस्थल छ। यो तीर्थस्थल हलेसी तुवाचुङ नगरपालिकामा पर्छ। पहाडका उकाली ओराली र समथर भूभाग समेटिएको यस नगरपालिकाका भूभाग समुद्र सतहबाट ३१०० फिटदेखि ४७३६ फिटको उचाइमा छन्।

हलेसी महादेवलाई हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बी पवित्र तीर्थस्थल मान्छन्। महादेवको मन्दिर रहेको गुफाभित्र बौद्ध भिक्षुहरू पवित्र बौद्ध ग्रन्थहरू पाठ गरिरहेको अवस्थामा देख्न पाइन्छ।

सातौँ शताब्दीमा बौद्ध धर्मावलम्बीका बीच सुप्रसिद्ध भिक्षु पद्मसम्भवले यहाँ तपस्या गरेका थिए रे। पद्मसम्भव नामका बौद्ध भिक्षुले अतिसा नामका बौद्ध भिक्षुभन्दा पहिले भारतबाट नेपाल आई तिब्बतसम्म पुगी बौद्ध धर्मको उपदेश दिएका थिए रे। यी कुरा तिब्बती भाषामा लेखिएका प्राचीन बौद्ध ग्रन्थहरूमा लेखिएका छन् रे। त्यसैले बौद्ध धर्मावलम्बीहरू हलेसी महादेवको स्थललाई तपोभूमिका रूपमा तीर्थस्थल मान्छन्।

हलेसी क्षेत्रमा हलेसो नामको चरा पाइने हुनाले यस क्षेत्रको नाम हलेसी रहन गएको हो भन्ने गरिन्छ।

हलेसी महादेवको उत्पत्तिका सम्बन्धमा रहेका दुई चर्चित किंवदन्तीहरू निम्नानुसार छन्-

१. वृकासुर राक्षसले दिव्य १२ हजार वर्ष तपस्या गर्‍यो। उसको तपस्याबाट शिव प्रशन्न भए र वृकासुरलाई ‘वरदान माग’ भने। वृकासुरले ‘जसको टाउकामा म हात राख्छु; त्यो भष्म हओस्’ भन्ने वर माग्यो। शिवले ‘तथास्तु’ भने। शिवसंगै थिइन् पार्वती। वृकासुर पार्वतीलाई आफ्नी बनाउन चाहन्थ्यो। त्यसका लागि उसले शिवलाई भष्म गर्नु जरुरी थियो। वृकासुरले शिवकै टाउकातिर हात लम्कायो। यो अप्रत्यासित आपत्बाट जोगिन शिव त्यहाँबाट भागे। वृकासुरले शिवलाई लखेट्यो। भाग्ने क्रममा शिवले सारा ब्रह्माण्ड भ्याए।

बटुक केभको प्रागंणमा श्रीमतीका साथमा लेखक र हलेसी महादेवको प्रागंणमा सहयात्रीका साथमा लेखक।
अन्त्यमा दूधकोशीबाट उकालो लागेर हलेसी थुम्कामा आइपुगे। यहाँ शिवले आफ्नो त्रिशूलले खोपेर एक लामो र ठाडो गुफा बनाए। वृकासुर आइपुगेमा माथि नै रोक्न शिवले गुफाको मुखमा बसाहा बनाई त्यसमाथि लामो नाग पनि बनाइदिए। अनि गुफाबाट माथि चढी अर्को सुरक्षित गुफामा गएर बसे।

शिवले आफू लुक्न बनाएको गुफा ‘बसाहा स्थान’ हो। शिवलाई परेको आपत् भगवान् विष्णुले थाहा पाए र तत्काल पार्वतीको रूप धारण गरेर ‘तिमी र म नाचौँ, म तिमीलाई नाच्न सिकाउँछु अनि पछि विवाह गरौँला’ भनेर वृकासुरलाई अल्मल्याउन थाले। वृकासुरले नक्कली पार्वतीलाई सक्कली मान्यो र नाच्न थाल्यो। नाच्दानाच्दै उसको आफ्नो हात आफ्नै टाउकामा पुग्यो र वृकासुर आफैँ भष्म भयो।

बसाहा स्थान गुफाको भित्तामा मानिसको पाइलाको झल्को दिने प्राकृतिक संरचना छ। उसलाई शिवको पाइलाका रूपमा अथ्र्याउने गरेको पाइन्छ। त्यस्तै बसाहा स्थानको नजिकै रहेको बेढंगको ढुंगालाई वृकासुरको खप्पर र त्यहाँ रहेको कडा चट्टानलाई वृकासुर राक्षसको हड्डी मानेर तीर्थालुहरू टेक्ने गर्छन्।

२. परापूर्व कालमा हलेसी क्षेत्रमा अनकन्टार जंगल थियो। कोही पनि प्रवेश गर्न नसक्ने यस जंगलमा एक दिन एउटा सिकारी बन्दुक बोकेर सिकारी कुकुरसहित प्रवेश गर्‍यो र सुनौलो मृग लखेट्न थाल्यो। मृग भाग्दाभाग्दै गुफामा पस्यो र बेपत्ता भयो। मृगलाई लखेट्दै गएको सिकारी कुकुर भुकेको आवाज भने आइरहेकै थियो। भोलिपल्ट सिकारी आफ्नो कुकुर खोज्न आयो। ऊ गुफाभित्र पस्यो। गुफाभित्र उसले झलमल्ल बत्ती बलेको पायो। बालबालिकाहरू नाचेको र तिनीहरूका बीचमा शिव र पार्वतीलाई देख्यो। तिनीहरूका वरिपरि अन्य गण पनि थिए। सिकारीले आफूले देखेको कुरा आफ्नो समुदायमा प्रचारमा ल्यायो र यो गुफा शिव/महादेवको स्थान हो भन्ने विश्वास विकास भयो।

आन्तरिक धार्मिक पर्यटकका रूपमा काठमाडौँबाट हाम्रो १६ जनाको एउटा डफ्फा १२ वैशाख २०८२ शुक्रबारका दिन प्रस्थान गरेको थियो। हामी भाडाको सुमो रिजर्भ गरेर जाने तयारी गर्दै थियौँ; हामीमध्येकै एक तीर्थयात्रीको आफन्तले आफ्ना दुईवटा स्कार्पियो मोटर निःशुल्क उपलब्ध गराइदिने प्रस्ताव गर्नुभएछ। हामी यिनै दुईवटा मोटरमा बाँडिएर बसेका थियौँ। हलेसीबाट हामी १३ गते फर्किएका हौँ। हामी चढेका मोटर अघिपछि गरेर दौडिएका थिए।

९ बजेतिर हामी चढेको मोटर हर्कपुर आइपुग्यो। त्यहाँको प्रहरी चौकीमा हाम्रो मोटरलाई रोकियो र चालकसँग कागजात मागियो। चालकसँग के कुरा मिलेन; मिलेन। चालकसँग प्रहरीको खटपट परेको जानकारीपछि हामीले पनि आफूहरू रिजर्भमा आएका होइनौँ पनि भन्यौं। प्रहरीले हामीमध्ये एक जनालाई बोलाएर गाडीवालाको नाम सोधे। गाडीवालाको नाम त हामी सबैलाई कसरी थाहा होस्! चालकलाई रिजर्भमा यात्रु बोकेको अभियोगमा दुई हजार रुपैयाँको चिट काटिएछ र इसेवाबाट जरिबाना जम्मा गर्न भनिएछ। जम्मा गर्न खोज्दा यहाँ सर्भर डाउन छ; भोलि मात्र खुल्छ; सदरमुकाममा गए मात्र इसेवाबाट रकम जम्मा गर्न सकिन्छ भनिएछ।

एकातिर ड्राइभरको अँध्यारो अनुहार!

अर्कातिर हामीलाई आजै काठमाडौँ पुग्नुपर्ने हतार!!

हाम्रो तीर्थयात्रा हेर्दाहेर्दै ‘जात्रा’मा बदलिँदै आयो।

बटुक केभ र हलेसी गुफा
हलेसीको बसाहा गुफाको भित्री भागबाट आकाश नियाल्न सकिने प्राकृतिक प्वाल र बटुक केभको भित्री भागबाट आकाश नियाल्न सकिने प्राकृतिक प्वाल।
उपलब्ध भूदृश्यका आधारमा हेर्दा मलेसियाको बटुक केभ र हलेसीको हलेसी गुफाका बीचमा समानता देखिन्छ। एक त यी दुवै गुफा हुन्- चुनढुंगाबाट बनेका गुफा। अर्को, हलेसीमा ‘बसाहा स्थान’ का रूपमा चर्चित गुफाको भित्री भागमा ठूलो छिद्र/प्वाल छ र यसबाट आकाशको ठूलो खण्ड देखिन्छ। बटुक केभको भित्री भागमा ठूलो छिद्र/प्वाल छ र यसबाट पनि आकाशको ठूलो खण्ड देख्न पाइन्छ।

बटुक केभ पहाडको फेदीमा छ; हलेसी महादेव तीर्थस्थलको मुख्य भाग र बसाहा स्थान दुवै पहाडमा अवस्थित छन्। बटुक केभमा मेट्रो रेल र सडक यातायातको सहज पहुँच छ; हलेसीको तीर्थस्थलमा सडक यातायातबाट पुग्न सकिन्छ।

प्रकाशित: २० वैशाख २०८२ १४:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast