
काठमाडौँ- पाकिस्तानको राष्ट्रिय हवाई कम्पनी पाकिस्तान अन्तर्राष्ट्रिय एयरलायन्स खराब आर्थिक अवस्थाबाट गुज्रिइरहेको छ। दक्षिण एसियामा बढिरहेको तनाव, निजीकरणको असफल प्रयास र आर्थिक व्यवधानले उसको कठिनाईलाई थप बढाइदिएको छ।
जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि छिमेकी मुलुक भारतले पाकिस्तानविरूद्ध केही कडा कदम उठाएको छ। प्रतिकारस्वरूप पाकिस्तानले पनि जबाफी कारबाही गर्दै केही निर्णय गरेको छ।
पाकिस्तानले लिएको निर्णयमध्ये एक हो– भारतीय विमान कम्पनीलाई आफ्नो एयरस्पेस बन्द गर्ने।
यसको अर्थ भारतीय विमान अब पाकिस्तानको आकाशमाथि उडेर अन्य देश जाने छैन। पाकिस्तानको यो निर्णयपछि भारतले पनि पाकिस्तानबाट आउने विमानका लागि आफ्नो एयरस्पेस बन्द गरेको छ।
भारतको एयरस्पेस बन्द भएपछि समस्यामा पाकिस्तान
दुवै मुलुकबीच हाल कूटनीतिक युद्ध चलिरहेको बेला पाकिस्तानको अन्तर्राष्ट्रिय एयरलाइन्समाथि गम्भीर आर्थिक असर परेको छ।
पाकिस्तानी एभिएसन इकोनोमिस्ट एवं टेलविन्ड प्रालिका प्रमुख मोहम्मद अफसर मलिक भन्छन्,‘भारतले लगाएको यो प्रतिबन्धपछि पाकिस्तानको अन्तर्राष्ट्रिय एयरलाइन्सले आफ्नो उडान चीनबाट लग्नुपर्ने हुन्छ। यसले विमानको उडान समय बढाउने छ। इस्लामाबादबाट बैंककजस्तो हवाईमार्ग घाटाको व्यापार हुनेछ।’
पाकिस्तानबाट सातामा ६ देखि ८ वटा यस्तो उडान हुने गरेका छन्। पाकिस्तानबाट उड्ने विमानको बाटो फेरिँदा यात्रा समय बढ्नुका साथै एयरलाइन्स सञ्चालन खर्च पनि वृद्धि हुनेछ।
एयरस्पेसमा प्रतिबन्ध लागेर पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्सले आर्थिक कठिनाइ भोगेको यो पहिलोपटक होइन। यसअघि पनि पाकिस्तानले यो कठिनाइको सामना गरिसकेको छ।
सन् २०१९ मा भारतले पाकिस्तानको बालाकोटमा आक्रमण गरेको बेला पाकिस्तानले भारतीय एयरलाइन्स कम्पनीका लागि एयरस्पेस बन्द गरेको थियो।
अवकाशप्राप्त क्याप्टेन एवं सेन्टर फर पावर स्टडिजका वरिष्ठ प्राध्यापक डा.दिनेशकुमार पाण्डे भन्छन्,‘पाकिस्तानले पछिल्लोपटक भारतीय एयरलाइन्सका लागि आफ्नो एयरस्पेस बन्द गरेको बेला उसलाई ४५ देखि ५० करोड डलर घाटा भएको थियो।’
एयरस्पेस उपलब्ध गराएवापत पाउने शुल्क पाकिस्तानले नपाउँदा घाटा बेहोर्नुपरेको उनको भनाइ छ।
‘नियमअनुसार अन्तर्राष्ट्रिय उडान गन्तव्यतर्फ जाँदा अन्य देशको हवाईमार्ग प्रयोग गरेवापत निश्चित शुल्क तिर्नुपर्ने हुन्छ। यसलाई ओभरफ्लाइट शुल्क भनिन्छ,’ पाण्डे भन्छन्,‘पाकिस्तानले एयरस्पेस बन्द गरेपछि भारतबाट पाउने शुल्क बन्द भयो। यसपालि पनि पाकिस्तानले त्यही कदम उठाएको छ।’(बीबीसीको सहयोगमा)