
काठमाडौँ- सरकारले खोप लगाउन छुट भएका ५ वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ। स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख डा.अभियान गौतमले छुट बालबालिकालाई ९ प्रकारका नियमित खोप लगाइने जानकारी दिए।
‘नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकालाई हामीले वैशाख ३१ गते खोप लगाउँदैछौँ’, उनले भने, ‘त्यो दिन विगतमा नियमित खोप लगाउन छुटेका बालबालिकाले खोप लगाउनेछन्।’
नेपालमा ५ वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाइसकेका छन्। शाखाप्रमुख डा.गौतमले छुटेका ५ प्रतिशत बालबालिकालाई खोजी गरेर खोप लगाइने बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुट भएका आआफ्ना सबै बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ।
प्रकाशित: १९ वैशाख २०८२ १३:०६
प्रतिक्रिया