भारतले पाकिस्तानमाथि तत्काल आक्रमण गर्न सक्छ?

हिमाल प्रेस २० वैशाख २०८२ ११:०३
42
SHARES
भारतले पाकिस्तानमाथि तत्काल आक्रमण गर्न सक्छ? मुजफ्फराबादको बजारबाट खाद्यान्न किनेर फर्केका पाकिस्तानी किशोरहरू भ्यानमा खाद्यान्नका झोलाहरूका साथ। पाकिस्तान प्रशासित कस्मिरले भारतसँगको वास्तविक सीमाक्षेत्र नजिकका बासिन्दालाई खाद्यान्न भण्डारण गर्न आह्वान गरेको छ। तस्बिर: एएफपी/रासस

काठमाडौँ- पहलगाम आक्रमणपछि भारत-पाकिस्तान सम्बन्धमा तनाव र टकरावको आशंका बढेको छ। यसै बेला विश्वका कैयौँ देशले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन अपिल गरेका छन्।

चीन, अमेरिका, टर्की र कतारले भारत-पाकिस्तानबीचको तनाव कम हुने विश्वास व्यक्त गरेका थिए। यद्यपि पछिल्लो केही दिनदेखि दुवै देशका सेनाबीच नियन्त्रण रेखा (एलओसी) मा बम आक्रमणका घटना भएका छन्।

यी सब घटनाका बीच भारत र पाकिस्तान युद्धको मुहानमा उभिएको भन्ने प्रश्न उठ्न थालेको छ। साथै भारतले आगामी केही दिनभित्रै पाकिस्तानमाथि कुनै कारबाही गर्न सक्छ? भन्ने प्रश्न पनि उठिरहेको छ।
पहलगाम आक्रमणपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहलगायतले दिएको अभिव्यक्तिले यस्तै संकेत गर्छ।

पहलगाम आक्रमणमा संलग्न आतंकवादी र योजनाकारलाई कुनै हालतमा नछोडिने दाबी उनीहरुले गर्दै आएका छन्। पाकिस्तानले आतंकवादीहरुलाई संरक्षण दिइरहेको आरोप भारतको छ। पहलगाममा पनि पाकिस्तानी आतंकवादीले आक्रमण गरेका भारतको गुप्तचर एजेन्सीहरुको निष्कर्ष छ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले केही दिनअघि भारतले सैन्य कारबाही गर्न सक्ने टिप्पणी गरेका थिए। ख्वाजापछि मंगलबार मध्यरातमा पाकिस्तानका सूचनमन्त्री अताउल्लाह तरारले भिडियो सन्देश जारी गरेर भारतले २४ देखि ३६ घण्टाभित्र पाकिस्तानमाथि आक्रमण गर्न सक्ने दाबी गरेका छन्।

उनले जारी गरेको भिडियो सन्देशमा भारतले पाकिस्तानमाथि सैन्य कारबाहीको तयारी गरिरहेको जानकारी आफूलाई प्राप्त भएको बताएका छन्।

भारत-पाकिस्तानबीच तनाव

२२ अप्रिलमा जम्मु-कस्मिरको पहलगामस्थित बैसरन उपत्यकामा पर्यटकमाथि भएको आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो। भारतले यो आक्रमणपछि पाकिस्तानविरुद्ध कडा कदम उठाउने निर्णय गरेको छ।

यसमा सिन्धु जल सन्धि निलम्बित गर्ने र पाकिस्तानी नागरिकको भिसा रद्द गर्ने निर्णय छन्। यसको प्रतिक्रियामा पाकिस्तानले पनि भारतीय नागरिकको भिसालाई रद्द गर्दै सिमला सम्झौता निलम्बित गरेको छ।
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफको कार्यालयले जारी गरेको वक्तव्यमा भारतले सिन्धु नदीको पानी रोकेमा पाकिस्तानले यसलाई ‘युद्ध कारबाही’ ठहर गर्ने बताएको छ।

यो आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाम आक्रमणमा संलग्नहरुलाई कल्पनाभन्दा माथिको सजाय दिइने बताएका थिए।
पाकिस्तानले भने पहलगाम आक्रमणमा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै आएको छ।

पहलगाम आक्रमणपछि फेरियो परिस्थिति

भारतले पछिल्लो समय कश्मीरको स्थिति सामान्य बनाउन जोड दिएको थियो। यसै वर्ष त्यहाँ शान्तिपूर्ण ढंगबाट विधानसभा चुनाव सम्पन्न भएको छ। जम्मु-कस्मिरमा पर्यटकको संख्या लगातार वृद्धि भइरहेको सरकारको भनाइ छ।

पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीचको परिस्थिति फेरिएको विश्लेषकहरुको भनाइ छ। दक्षिण एसिया मामिलाका जानकार माइकल कुगलमैनले न्युजविकमा प्रकाशित एक लेखमा ‘पहलगाम आक्रमणबाट खेलको नियम बदलिने’ लेखेका छन्।

‘सन् २००८ मा मुम्बई आक्रमणपछि भारतमा नागरिकमाथि भएको यो सबैभन्दा ठूलो आक्रमण हो। यो आक्रमणलाई हेर्ने हो भने भारतले सम्पूर्ण शक्तिका साथ जवाफ दिने निश्चित छ,’ उनले लेखेका छन्। यो परिस्थितिमा भारत वा पाकिस्तानको तर्फबाट गरिएको गलत आकलनले थप कठिनाइ उत्पन्न गर्न सक्ने विश्लेषकहरुको बुझाइ छ।

भारतले सेप्टेम्बर २०१६ मा उरीमा सैन्य क्याम्पमाथि भएको आक्रमणमा १९ सैनिकको मृत्युपछि पाकिस्तानभित्र सर्जिकल स्ट्राइक गरेको थियो।

त्यसपछि सन् २०१९ मा पुलवामा सीआरपीएफको समूहमाथि भएको आक्रमणपछि भारतले फेब्रुअरी २०१९ मा एलओसीभन्दा करिब ५० किलोमिटर टाढा बालाकोटमा हवाई आक्रमण गरेको थियो।

पाकिस्तानमा त्रास?

युद्धको आशंकाहरुका बीच पाकिस्तानबाट आइरहेका वक्तव्यहरुबाट पाकिस्तानमा डर माहोल देखिएको छ। सैन्य विश्लेषक यस्ता बयानहरुको अर्थ भारतको तर्फबाट हुने हरेक खालको कार्यबाहीको जवाफ दिन पाकिस्तान तयार रहेको बताउँछन्।

सैन्य विश्लेषक अजय शुक्ला भन्छन्, ‘यसखाले बयान दिएर जवाफी कारबाहीका लागि पाकिस्तान सरकार तयार रहेको बताउन चाहिरहेको छ। भारतले आक्रमण गरे पाकिस्तान चुप लागेर नबस्ने उसले भन्न खोजेको छ।’

भारतसँग सैन्य टकराबका लागि आफू सक्षम रहेको पाकिस्तानले प्रस्ट पार्न खोजेको शुक्लाको भनाइ छ। बीबीसीको सहयोगमा

प्रकाशित: २० वैशाख २०८२ ११:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast