पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार गर्नेलाई कारबाही हुनुपर्छ : देव गुरुङ

हिमाल प्रेस १९ वैशाख २०८२ ११:५१
26
SHARES
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार गर्नेलाई कारबाही हुनुपर्छ : देव गुरुङ

पोखरा- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पोखरा विमानस्थल निर्माणमा अर्बौ रकम भ्रष्टाचार भएको भन्दै दोषीलाई तत्काल कारबाहीको माग गरेका छन्। संसदीय उपसमितिले सार्वजनिक लेखा समितिमा समेत हालै बुझाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन तथा अनुगमन प्रतिवेदनमा १० अर्बभन्दा बढी रकम भ्रष्टाचार भएको उल्लेख छ।

सो सम्बन्धमा माओवादी केन्द्रका महासचिव गुरुङले शुक्रबार पोखरामा प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दोषीलाई तत्काल कारबाहीको माग गरेका हुन्।

उनले वर्तमान सरकारले भ्रष्टाचारीलाई संरक्षण दिएको, सुशासनमा कमी आएको हुँदा जनतामा निराशा बढेको बताए। उनले भने,‘यही निराशा दरबारीया शक्तिहरूले उपयोग गरेर गणतन्त्रको विरुद्धमा ‘क्यास’ गर्न खोजेका छन्।’

उनले सरकारले गणतन्त्रको रक्षा गर्न नसकेको आरोपसमेत लगाए। राजावादीहरूको तीनकुने आन्दोलनको स्मरण गर्दै उनले भने,‘सरकारको यो बेथिति र रबैयाका कारण भविष्यमा कुनै न रूपले गणतन्त्रविरुद्ध आवाज उठ्न सक्दैन, प्रहारको प्रयास हुँदैन भन्न चाहिँ सकिँदैन।’

उनले शिक्षक आन्दोलन तथा चिकित्सक आन्दोलनका अलावा सहकारी, लघुवित्त वा अन्य सबै असन्तुष्टिलाई बेलैमा सम्बोधन नगरी गिथोल्ने प्रयास गर्दा जनतामा असन्तुष्टि बढेको बताए। वार्ता तथा समस्या सुन्ने, सुल्झाउनेतर्फ सरकार नजाँदा असन्तुष्टिको स्वर बढेको उनको टिप्पणी छ।

उनले आफ्नो दल माओवादी सरकारमा जान नहतारिएको पनि प्रस्ट पारे। सरकारप्रति सत्तारुढ दलहरूमै असन्तुष्टि देखिएको बताउँदै उनले भने,‘माओवादीलाई सरकारमा जान हतार भएर अहिलेको सरकार ढल्ने होइन। तर सरकार आफ्नै कारण ढल्ने संकेत देखिन्छ। प्रतिपक्षभन्दा सत्तापक्षमा नै चर्को असन्तुष्टि देखिन्छ। त्यो कांग्रेस र एमाले दुबै दलमा छ।’

प्रकाशित: १९ वैशाख २०८२ ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast