
काठमाडौँ- नारीवादी लेखकहरूले नेपाली साहित्यमा महिला समस्या उजागर भइरहेकाले अब रूपान्तरणतर्फ लाग्नुपर्नेमा जोड दिएका छन्। साहित्यकारहरू डा.रजनी ढकाल, प्रगति राई र सुमिनाले जुनकिरी : नारीवादी पुस्तकालयको पाँचौँ वार्षिकोत्सवका अवसरमा बिहीबार भ्वाइसेस अफ ओमन मिडियाले आयोजना गरेको ‘समाज र साहित्य : नेपाली साहित्यमा नारीवादी विचारका लागि ठाउँ छ?’ भन्ने विषयमा बहस गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।
कवि सुमिनाले नेपाली साहित्य आधुनिकतातर्फ फड्को मारेको बताइन्। ‘समाजमा भएका घटनाक्रम, मनोभावना, मस्तिष्कमा उब्जिरहेका विचारलाई सुसंगठित र सुव्यवस्थित तरिकाले भाषाका माध्यमबाट प्रकट गर्नु साहित्य हो’, उनले भनिन्, ‘साहित्य समाजको दर्पणमात्र नभएर समाज परिवर्तन र रूपान्तरणको अस्त्र पनि हो।’
अबको नेपाली समाजमा साहित्य दर्पण भएर मात्र पुग्दैन भन्ने उनलाई लाग्छ। समाजमा भइरहेको गतिविधिलाई जस्ताको तस्तै देखाएर नहुने र त्यसको रूपान्तरणतर्फ लाग्नुपर्ने उनको भनाइ छ। ‘लेखकले महिलाका मुद्दाहरूमा उनीहरूको दुःखलाई मात्र उजागर गर्ने होइन्। त्यसबाट मुक्तिको बाटो खोज्नतर्फ लाग्नुपर्छ,’ उनी थप्छिन्, ‘नेपाली लेखकहरू आज पनि साहित्यकारभन्दा बढी मान्छे बन्न संघर्ष गरिरहेका छन्। हिजो पाइथागोरस, प्लेटो, रूसोलगायतले महिलालाई आधा/अपुरो मान्छेजस्तो गरी व्याख्या गरेका थिए। त्यही कुरा नै समाजले अपनाइरहेको छ।’
समाजले अझै पनि महिलालाई पूर्ण मानव मान्न नसकिरहेको अवस्थामा लेखक तथा साहित्यकार स्वीकार्न झनै समस्या रहेको उनको दृष्टिकाेण छ।
‘हामीले प्रेम, यौन, फूल, जूनको कुरा लेख्दा प्रशंसा पाइरहेका हुन्छौँ तर महिला अधिकार, स्वतन्त्रता र मुक्तिको कुरा लेख्दा कुण्ठा, आक्रोश पोखेको भन्दै साहित्य नरम हुन्छ भन्ने भाष्य चलाइन्छ,’ उनले भनिन्। उनी महिलावादी र महिलामुक्तिको विचारलाई स्वीकार्न महिलाकाे संघर्ष आवश्यक ठान्छिन्।
साहित्यमा नारीवादी स्थापित हुन महिलाले सुरुमा घरबाट संघर्ष गर्नुपर्ने उनले बताइन्। ‘परम्परागत सोचलाई भत्काएर आइपरेका घेराहरू चुँडाल्नुपर्छ र यसको लागि आएका जटिलता, टीकाटिप्पणीलाई नजरअन्दाज गर्न सक्नुपर्छ’, उनले भनिन्। पछिल्लो समय साहित्य उपत्यका केन्द्रित भइरहेको, सीमान्तकृत समुदायबाट हेर्दा सन्तोषजनक नरहेको औंल्याउँदै उनले कुना र कन्दराका उत्पीडित समुदायको कथा/व्यथालाई मूलधारमा ल्याउन साहित्यिक आन्दोलन गर्न आवश्यक रहेको धारणा राखिन्।
साहित्यकार प्रगति राईले पनि सामाजिक संरचनामा आधारित भएर लेखिएका साहित्यमा महिलाको प्रतिनिधित्व न्यून रहेको बताइन्। महिलाले लेखेका सबै कृति नारीवादी नभएको समेत उल्लेख गरिन्। ‘नेपाली साहित्यमा दयाको पात्र, अलौलिक पात्र त कसैले गौण रूपमा आउने महिला पात्र धेरै छन्। समाजमा कसैलाई चित्त नदुखाई र हानी नपुर्याई लेखिएको कृति निकै कम छ,’उनले भनिन्। साहित्य महिला र पुरूष केन्द्रित नभएर समग्र समाजको हित गर्ने तरिकाबाट लेखिनुपर्छ भन्ने उनको अभिव्यक्ति छ।
‘कुनै समय महिला दुलही भएर गइरहेको कथाहरु लेखिन्थ्यो। अहिले समाजमा महिलाले पुरूषलाई घरज्वाइँ राख्ने मनोभावना आइरहेको अवस्था छ। युवाअवस्थामा पति र पत्निबीच निहुँ खोज्ने प्रवृत्ति बढिरहेको छ। हामी गल्ति सुधार्न प्रयत्न गर्दैनौँ। बिग्रन लागेकोलाई सम्झाउन खोज्दैनौँ। जस्तालाई तस्तै भन्ने धारणामा कहिले महिलालाई त कहिले पुरुषलाई दमन गर्न खोज्दा हाम्रो समाज अझै पछाडि धकेलिन्छ। यसले राम्रो साहित्य पनि सिर्जना हुन सक्दैन’, उनले भनिन्।
त्यस्तै, समालोचक डा. रजनी ढकालले साहित्यले नै नेपाली समाज रूपान्तरणमा ठूलो टेवा पुर्याइरहेको बताइन्। इतिहासलाई पल्टाउँदा राजनीतिमा भएको परिर्वनमा पनि कहीँकतै साहित्यकारको उपस्थिति रहेको भन्दै उनले पछिल्लो समय जातीय र लैंगिक परिवर्तनहरू आशावादी रहेकाे उल्लेख गरिन्।
‘साहित्य नभएको भए नेपाली समाज यति छिटो रूपान्तरण हुने थिएन होला। नारीवादीको कोणबाट त्यति छिटो समाज परिवर्तन भएको छैन तर राजनीतिक सन्दर्भमा चेतना निर्माणकाे काम साहित्य लेखनकै माध्यमबाट भएको छ’, उनले भनिन्। मानिसमा विचार निर्माण गर्ने र पाठकलाई वैचारिक चेतनाबाट फरक लैजानले काम साहित्यको अध्ययनले गर्ने उनको बुझाइ छ। साहित्य समाजको महत्त्वपूर्ण हतियार भएकोले यसले आम व्यक्तिलाई परिवर्तनको बाटोतर्फ प्रेरित गर्छ भन्ने कुरामा उनको विश्वास छ।
‘नेपाली साहित्यमा पारिजात, गोपालप्रसाद रिमाल, महाकवि देवकोटा, भूपि शेरचन, प्रगति राईलगायत साहित्यकारको रचनामा समाज परिवर्तनका लागि आवाज मुखरित भएका छन्। उहाँहरूका रचना प्रभावकारी र समाजलाई सम्बोधन गर्ने किसिमका छन्’, ढकालले भनिन्। साथै परिवर्तनशील देशको राजनीतिक अवस्था, सत्ता र शक्तिका कारण उपेक्षित र दमित भएकाहरू आफैँ परिवर्तन हुनुपर्छ भन्ने चेतना साहित्यिक कृतिले नै प्रवाह गरेको उनले बताइन्।
पछिल्लो समयमा लेखकहरूमा पनि लैङ्गिक चेतनाका कोणबाट साहित्य लेखिनुपर्छ भन्ने विचार आएको उनको बुझाइ छ। ‘अहिले कुनै अभिव्यक्ति दिँदा वा लेख लेख्दा महिला पुरूष तथा लैंगिक अल्पसंख्यक समुदायलाई परम्परागत कोणबाट चित्रण गर्न हुँदैन्, पितृसत्ताले गरेको दमनका विरूद्धमा चेतना निर्माण गर्नुपर्छ भन्ने विकास भएको छ’, उनले भनिन्।
पितृसत्ता अथवा शासनसत्ताले दमन गरिरहेको समाजको अवस्थाअनुसार लेखकले ल्याएका कथाहरू समय सान्दर्भिक रहेको उनले बताइन्। समाज परिवर्तनमा महिलाले महिलालाई गर्ने व्यावहार र हेर्ने दृष्टिकोणमा पनि परिवर्तन हुन जरुरी रहेको उनको बुझाइ छ।
‘२०६२/६३ सालको राजनीतिक परिवर्तनपछि समाजमा महिला सीमान्तकृत वर्गलाई नेपालको संविधानले शक्तिशाली रूपमा स्वीकारेको छ। तर हामी महिलाले महिलालाई मन पर्दा एउटा व्यवहार र नपर्दा तुच्छ शब्द प्रयोग गरिरहेका हुन्छौँ। हामीमा अझै पितृसत्ताको वर्चस्व छ। आफ्नो व्यवहारमा परिवर्तन नगरी समाज परिवर्तन हुँदैन। लेखमा समाज परिवर्तनको कुरा गर्ने हामी आफू कति नैतिकवान् र संवेदनशील हुन सक्यौँ भन्नेमा पनि फरक पर्छ’, उनले भनिन्।
विगतको तुलनामा महिलालाई हेर्ने दृष्टिकोणमा नारी चेतना कोण उनले भेटेकी छन्। पुरूष लेखकबाट पनि महिलाको क्षमता उजागर गरेर साहित्य लेखिएको उनले बताइन्। छलफलमा सहजकर्ताको भूमिकामा लेखक अस्मिता वादी थिइन्।