
काठमाडौँ- भारतको ओडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएको झन्डै तीन महिनापछि सोही विश्वविद्यालयमा अर्की नेपाली छात्राको शंकास्पद मृत्यु भएको छ। केआईआईटीमा अध्ययनरत एक नेपाली छात्रा प्रिया साह आफ्नै होस्टल कोठामा मृत भेटिएपछि घटनाको कारण पत्ता लगाउन ओडिसा राज्य सरकारले उच्चस्तरीय छानबिन थालेको छ।
ओडिसाको सूचना तथा लोक सम्पर्क विभागले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार घटनाबारे स्थानीय प्रहरीले बेलुका ८:१० बजे जानकारी दिएको थियो। त्यसपछि विश्वविद्यालय प्रशासनले मृतक छात्राकी परिवारलाई तुरुन्तै सूचना दिएको जनाइएको छ।
ओडिसा सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ। राज्य सरकारले पीडित परिवारलाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
घटनाको जानकारी पाएसँगै ओडिसाका प्रहरी आयुक्त र राजस्व विभागीय आयुक्तसहितका उच्च अधिकारीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए। घटनास्थलमा उपस्थित फरेन्सिक टोलीले प्रमाण संकलनको कार्य गरिरहेको छ।
नेपालको परराष्ट्र मन्त्रालयले पनि घटनाबारे भारत सरकार, ओडिसा राज्य सरकार र नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत छानबिन प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।
प्रिया वीरगन्ज निवासी रहेको र उनी बी.टेक पहिलो वर्षमा अध्ययनरत रहेको खुलेको छ। नेपाली विद्यार्थीहरूलाई अहिले होस्टल बाहिर निस्कन दिइएको छैन।