भोजपुर गोल्डकप : एपीएफको रोमाञ्चक जित, भारतको जर्जियन क्लब बाहिरियो

हिमाल प्रेस १९ वैशाख २०८२ ५:५४
16
SHARES
भोजपुर गोल्डकप : एपीएफको रोमाञ्चक जित, भारतको जर्जियन क्लब बाहिरियो

भोजपुर- भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले जर्जियन फुटबल क्लब भारतलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा दुवै टिमको तर्फबाट गोल हुन नसकेपछि थप गरिएको सात मिनेटको सुरुमै एपीएफका लागि जर्सी नम्बर ७ का खेलाडी सामीराह थोकरले एक गोल गरे। सोही गोल जितका लागि निर्णायक बन्न पुग्यो।

सेमिफाइनलको म्यान अफ दी म्याच एपीएफका गोलकर्ता थोकर नै बने। प्रतियोगिताअन्तर्गत शुक्रबारको सेमिफाइनल खेल भगवती स्पोर्ट्स क्लब खोटाङ र चर्च ब्वाइज युनाइटेड काठमाडौँका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका उपाध्यक्ष भाष्कर तामाङले जानकारी दिए।

भोजपुर नगरपालिका–७ स्थित रंगशालामा यही वैशाख १४ देखि सञ्चालन भइरहेको प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटबल क्लव, आयोजक भोजपुर जिल्ला फुटबल संघ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्टस् क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडौँ र एलएक्स सिटी मोरङ गरी आठ टिमले सहभागिता जनाएका थिए।

जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन्।

अन्य व्यक्तिगत विधातर्फ पुरस्कारको व्यवस्था गरिएकोे जिल्ला फुटबल संघका उपाध्यक्ष भाष्कर तामाङले जानकारी दिए। प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले ३० लाख सहयोग गरेको छ।

प्रकाशित: १९ वैशाख २०८२ ५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast