
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएका छन्।
प्रधानमन्त्री ओलीले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएको तीन दलका शीर्ष नेताको बैठकमा प्रचण्ड अनुपस्थित भएका हुन्।
ओलीले शान्तिप्रक्रियाका बाँकी कामका विषयमा छलफल गर्न बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
विश्वासको वातावरण नबनेको भन्दै प्रचण्ड बैठकमा उपस्थित भएका थिएनन्। टीआरसीसँग नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई साटेको भाष्य बनाएको भन्दै असन्तुष्ट बनेका प्रचण्ड बैठकमा उपस्थित नभएको माओवादीका एक नेताले बताए।
शीर्ष नेताहरूको बैठकमा प्रचण्ड उपस्थित नभएपछि ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मात्र छलफल भएको छ।
देउवासँगको भेटमा सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा दुवै नेता सहमत भएका छन्।
सरकारले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको छ।
नीति तथा कार्यक्रममा रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन, शिक्षा र प्रविधिमा लगानी, सार्वजनिक सेवा र सुशासन सुधार, सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) मा भएका प्रगतिप्रति केन्द्रित हुने बताइएको छ।