
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको अनौपचारिक भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चौथाइवालेले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषमा छलफल भएको बताइएको छ।
तीनदिने भ्रमणका क्रममा बुधबार काठमाडौँ आएको चौथाइवालेले बुधबार नै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उनकी पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेट गरेका थिए।
सोही दिन उनले गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकसँग भेटवार्ता गरेका थिए।
विदेश विभाग प्रमुख चौथाइवालेले बिहीबार प्रधानमन्त्री ओलीलाई भेट्नुअघि माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेसका महामन्त्री गगन थापा, कांग्रेस नेता शेखर कोइराला, उदयशम्शेर राणा, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायतका नेतासँग भेटवार्ता गरेका थिए।