
काठमाडौँ – भारतको कश्मीरस्थित पहलगाममा वैशाख ११ गते भएको आतंकवादी आक्रमणमा एक नेपाली सहित २६ जना पर्यटकको मृत्यु भएको घटनाप्रति हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले दुःख व्यक्त गर्दै पाकिस्तानी सरकारप्रति कडा शब्दमा विरोध जनाएको छ।
हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले नेपालका लागि पाकिस्तानका राजदूतलाई दूतावासमा पुगेर ज्ञापनपत्र बुझाउँदै विरोध जनाएको हो।
धार्मिक आस्थाका कारण हिन्दूहरूको लक्षित हत्या गरिएको भन्दै यसप्रकारका आक्रमणले विश्व शान्ति र सहिष्णुतामाथि गम्भीर खतरा उत्पन्न गराउने चेतावनी समेत ज्ञापनपत्रमा उल्लेख छ।
पाकिस्तान समर्थित आतंकवादी संगठनले बारम्बार हिन्दूहरूलाई लक्षित गरी आक्रमण गर्दै आएको सन्दर्भमा नेपालका पर्यटकसमेत मारिनु अत्यन्त दुःखद र आपत्तिजनक रहेको ज्ञापनपत्रमा भनिएको छ।
साथै, यस घटनालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्ताव १३७३ बमोजिम अन्तर्राष्ट्रिय आतंकवादी क्रियाकलापका रुपमा मूल्यांकन गर्न अभियानले आग्रह गरेको छ।
नेपाली नागरिकको मृत्यु भएको घटनाले सम्पूर्ण नेपाली जनतामा शोक र आक्रोश पैदा गरेको र त्यहाँको सेनापतिले हिन्दुहरुप्रति दुरभाव राखि बोलेको केही समयमा नै यस्तो घटना हुनुले पाकिस्तानप्रति हिन्दूहरुको धारणा फरक हुन सक्ने भन्दै ज्ञापनपत्रमा भारत सरकारसँग मिलेर आक्रमणकारीहरूलाई कारबाही गर्न पाकिस्तान सरकारलाई दबाब दिन समेत आह्वान गरिएको छ।
ज्ञापनपत्रमा भनिएको छ, ‘हामी संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय समुदायसँग पाकिस्तानमा आश्रित आतंककारी समूहहरूविरुद्ध कडा कारबाही गर्न माग गर्दछौँ।’