
काठमाडौँ- राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको अध्यक्षमा भूमिका सुब्बा निर्विरोध निर्वाचित भएका छन्। आज सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनले सुब्बाको नेतृत्वमा ९९ सदस्यीय सर्वसम्मत केन्द्रीय कमिटी चयन गरेको हो।
महाधिवशेनमा अध्यक्ष प्रेमनाथ अधिकारीले सुब्बालाई अध्यक्षका लागि प्रस्ताव गरेका थिए। यसअघि कार्यसमितिका उपाध्यक्ष सुब्बा लामो समयदेखि जनसांस्कृतिक महासंघमा आवद्ध रहेका छन्।
उनी पूर्वमन्त्री तथा पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बसन्त नेम्वाङकी पत्नी हुन्। महाधिवेशनले उपाध्यक्षमा अशोक राई र नमुना शर्मा, महासचिवमा आरसी शर्मालाई चयन गरेको छ।
यसैगरी उपमहासचिवमा होमराज सुवेदी, सचिवमा अमृत खाती, अशोक प्यासी राई, सुवाश मल्ल र पदम रोकायलाई सर्वसममत चयन गरेको छ। महाधिवेशनको उदघाटन बुधबार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।