
काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकार र श्रमिक वर्गबीच समन्वयको वातावरण निर्माण गरी नेपाललाई आर्थिक रुपमा बलियो, समृद्ध र सामाजिक रूपमा न्यायपूर्ण बनाउन सबै क्षेत्रबाट सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
विश्व मजदुर दिवस (१ मे) का अवसरमा शुभकामना सन्देश दिँदै उनले दिवसले बालश्रमको निषेध, महिला श्रमिकलाई सुरक्षा र अनौपचारिक श्रम क्षेत्रको संरचना सुधार गर्न सबैलाई दत्तचित्त भई क्रियाशील हुन उत्प्रेरित गर्न सकोस् भनी कामनासमेत व्यक्त गरे ।
उपराष्ट्रपति यादवले समाज र राष्ट्रको विकास निर्माण तथा उन्नयनमा श्रमजीवीहरूको श्रम, मेहनत, समर्पण र सङ्घर्ष अमूल्य रहेको बताए । उनले श्रमजीवीको अधिकारको रक्षा र जीवनस्तर सुधार गर्दै उचित पारिश्रमिक प्रदान गर्ने अवस्था सिर्जना गर्न सबैजना आ–आफ्नो तर्फबाट निरन्तर प्रयासरत रहन जरुरी भएको उल्लेख गरे ।
‘यो दिवस श्रमजीवीहरूका लागि सुरक्षित, सम्मानजनक र समावेशी कार्य एवं समान पारिश्रमिकका लागि वातावरण सुनिश्चित गर्ने दृढ संकल्प र प्रतिबद्धता व्यक्त गर्ने अवसर हो। उहाँहरूको अधिकार रक्षा र कल्याणबाटै हाम्रो समाज र मुलुक थप न्यायपूर्ण र समृद्ध बन्न सक्दछ’, शुभकामना सन्देशमा भनिएको छ।
उपराष्ट्रपति यादवले श्रमजीवीहरूको अधिकार, सम्मान र योगदानलाई मान्यता दिने प्रतीकका रूपमा समेत मनाइने मे दिवसले श्रम अधिकारको सुनिश्चितताका लागि थप क्रियाशील हुन सबैलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गरेका छन्।
मुलुकको विकास र समृद्धिमा श्रमिकहरुको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनले खासगरी कृषि, उद्योग, विकास–निर्माण, पर्यटन, घरेलु क्षेत्र र अन्तरराष्ट्रिय श्रम बजारलगायतका क्षेत्रमा श्रमिकहरूको भूमिका उल्लेखनीय योगदान रहेको बताए।