हुरीले छानो उडाउँदा लागेर एक घाइते

हिमाल प्रेस ६ जेठ २०८२ ९:१९ | Tuesday, May 20, 2025
हुरीले छानो उडाउँदा लागेर एक घाइते

काठमाडौँ- हुरी र असिनापानीका कारण बैतडीमा एक जना घाइते भएका छन्। सोमबार बेलुका आएको हुरीसँगैको वर्षाका कारण यहाँ विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

हुरीले सिँगास गाउँपालिका-२ मैतडका विष्णु बोहराको दुईतले जस्तापाताले छाएको घरको छाना उडाएको छ। छाना उडाउँदा जस्तापाताले लागेर घरभित्र रहेका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। टेकेन्द्रको टाउकोमा चोट लागेको छ।

उनका अनुसार सिँगास-५ खैरकोट, सल्याली, ढुङ्गाडका केही घरमा पनि हुरीले क्षति पुगेको छ।

पाटन नगरपालिका ८ धारीमा एकतले जस्तापाताले छाएको सामुदायिक भवनको छानो उडाएको छ। उक्त भवनको छानो उडेर नजिकै रहेको विनोद महराको घरबाहिर बाँधेको पाडोलाई लाग्दा पाडो मरेको प्रहरी निरीक्षक बडुले बताए।

हुरीले रुख ढल्दा डिलाशैनी गाउँपालिका ६ नेगाउस्थित निङ्लासैनी आधारभूत विद्यालयको शौचालयमा क्षति पुगेको छ। हुरीका कारण सडकमा रुख ढलेर महाकाली राजमार्ग पनि बन्दसमेत भएको थियो। डिलाशैनी ६ बाङ्गाबगरमा रुख ढलेर केहीबेर अवरुद्ध भएको राजमार्ग अहिले खुलिसकेको नियमित सञ्चालन भइरहेको उहाँले जानकारी दिए।

असिनापानीले फलफूल र तरकारीमा क्षति पुगेको दोगडाकेदार गाउँपालिका ४ का उमेश भट्टले जानकारी दिए। उनले भने, ‘एक्कासि आएको असिनापानीले वर्षे फलफूल र तरकारीमा क्षति पुगेको छ।’ हुरीका कारण विद्युत् सेवा पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

विद्युत् सेवा सञ्चालनको प्रयास भइरहेको जिल्लास्थित नेपाल विद्युत् प्राधिकरणका प्रमुख जनार्दन पौडेलले बताए।

यसअघि गत चैत अन्तिम साता पनि असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी र बेर्नामा क्षति पुर्‍याएको थियो। रासस

प्रकाशित: ६ जेठ २०८२ ९:१९ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast