 
                             
                                            काठमाडौँ-  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य नैतिक कर्तव्यमात्र नभई शान्ति र सुरक्षाका लागि पनि आधारशिला भएको बताएका छन्।
जिनेभास्थित पाले डेस नेशन्समा आयोजित ७८ औँ विश्व स्वास्थ्य महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्री पौडेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) महामारी सम्झौताको स्वीकृतिलाई स्वागत गर्दै सबैका लागि न्यायसंगत स्वास्थ्य सेवा प्रणाली, सशक्त अन्तर्राष्ट्रिय सहकार्य र ‘स्वास्थ्यका लागि एक विश्व’ को भावना अँगाल्नुपर्नेमा जोड दिए।
वर्तमान र भविष्यका चुनौतीहरूलाई ध्यानमा राख्दै उनले डब्ल्यूएचओको भूमिका थप महत्वपूर्ण भएको उल्लेख गरे।
मन्त्री पौडेलले संयुक्त अधिराज्यकी सार्वजनिक स्वास्थ्य तथा रोकथाम मामिलाका संसदीयसचिव एश्ली डाल्टन र भारत सरकारकी स्वास्थ्य सचिव पुन्य सलिला श्रीवास्तवसँग छुट्टाछुट्टै भेटवार्ता गरेको जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ।
त्यस्तै उनले जिनेभास्थित नेपाल स्थायी नियोगको भ्रमण गर्दै हालका प्राथमिकता, गतिविधि र नेपालका संलग्नताबारे जानकारी लिए।
नेपालको सहआयोजनामा आयोजित ‘डब्ल्यूएचओ पारम्परिक चिकित्सा रणनीति २०२५–२०३४ कार्यान्वयनमार्फत सर्वव्यापी स्वास्थ्य सेवा सुधार’ सम्बन्धी कार्यक्रमलाई पनि स्वास्थ्यमन्त्री पौडेलले सम्बोधन गरेका थिए।
मन्त्री पौडेललाई नेपालले तम्बाकु नियन्त्रणमा देखाएको उत्कृष्ट प्रयासका लागि डब्ल्यूएचओको ‘वल्र्ड नो टोबाको डे २०२५’ पुरस्कार प्रदान गरिएको थियो।
भ्रमणका क्रममा उनले स्वीट्जरल्यान्डको गृह मामिला विभागकी महासमिति सदस्य एलिजाबेथ बाउन–श्नाइडरसँग पनि भेटवार्ता गरेको स्थायी नियोगले जनाएको छ।
त्यस्तै उनले डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस एडहानम घेबे्रयसस, श्रीलंकाकी स्वास्थ्यमन्त्री नालिन्दा जयतिस्सा र माल्दिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला नाजिम इब्राहिमसँग पनि भेटवार्ता गरेका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 