 
                             
                                            काठमाडौँ- ‘सिनेपा’ नामक फिल्म छायांकन स्टुडियो निर्माण सुरु भएपछि फिल्मकर्मीमा उत्साह थपिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपामा निर्माण हुने उक्त स्टुडियोको निर्माणको उद्घोष गरेसँगै फिल्मकर्मीहरुमा उत्साह बढेको हो।
यसै विषयमा अभिनेता तथा निर्देशक नीर शाहले छ दशकदेखि अभाव बल्ल पूरा हुने आशा पलाएको बताए। आफू २०२२ सालमा फिल्म छायांकनकै लागि नेपाल बाहिर जानुपरेकाे स्मरण गर्दै उनले आगामी दिनमा प्रविधियुक्त स्टुडियो निर्माण गरेर विदेशी फिल्मकर्मीलाई आकर्षित गर्नुपर्ने धारणा राखे।
‘ढिलै भए पनि हामीले स्टुडियो बनाउने उद्घोष गरेका छौँ। यो एउटा नयाँ युगको सुरूवात हो। यसबाट हामीले आफ्ना नवीनतम् कामलाई सुरुवात गर्न सक्छौँ’, अभिनेता शाहले भने। उनले सरोकारवाला निकायले उत्तरदायी भूमिका निर्वाह गरेकै कारण स्टुडियो निर्माण प्रारम्भ भएको बताउँदै समयमै काम सम्पन्न गर्न आग्रह गरे।
चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले स्टुडियोले फिल्मकर्मीको कामलाई सहज बनाउने विश्वास व्यक्त गरे। ‘हामीले प्राविधिक सहायताले धेरै काम गर्न सक्छौँ। समयमै निर्माण भएर फिल्मकर्मीले उपयोग गर्न पायौँ भने हामीले यसबाट नयाँ किसिमको फिल्म निर्माणसँगै अन्य धेरै फाइदा लिन सक्छौँ। यो हामी फिल्मकर्मीका लागि सुखद समाचार हो’, उनले भने।
अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि स्टुडियो बन्ने खबरले चलचित्रकर्मीहरू उत्साहित भएको बताए। ‘यो राम्रो कामको सुरुवात हो। हामीले केही गरेनौँ भन्दा पनि गरिरहेका छौँ, प्रयासरत छौँ भन्ने सन्देश दिनु राम्रो हो। समयमै स्टुडियो निर्माण पनि सम्पन्न हुन्छ भन्ने विश्वास मैले लिएको छु। हामी सकारात्मक सोच राखेर आशावादी हुनुपर्छ, त्यसले सुन्दर नतिजा दिन्छ’, अभिनेता गिरीले भने।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले अध्यक्ष पदको कार्यभार सम्हालेदेखि नै तीन वटा काम पूरा गर्ने लक्ष्य लिएको बताए। ‘फिल्म क्षेत्रलाई समयानुकूल बनाउन परिमार्जित चलचित्र ऐन, रियल टाइम बक्सअफिस डाटा र अत्याधुनिक सुविधासम्पन्न स्टुडियो प्राथमिकतामा राखेर काम गरेको थिए, हामीले यी तीनै काममा सफलता हात पारेका छौँ। यसले नेपाली फिल्मको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउनेमा विश्वस्त छौँ’, अध्यक्ष डिसीले भने।
‘सि’अर्थात् ‘सिनेमा’ र नेपाल भाषामा ‘नेपाः’ अर्थात् ‘नेपाल’ राखेर स्टुडियोको नामाकरण ‘सिनेपाः’ बनाएको हो। करिब ४२ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त स्टुडियोले फिल्मकर्मीलाई छायांकनलगायतको प्रयोजनका लागि सहयोगी हुने विश्वास छ। स्टुडियो निर्माणका लागि झन्डै ३७ करोड लागतको अनुमान गरिएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 