समन्वयहीन नीति तथा कार्यक्रम, सुशासनको प्रतिबद्धता व्यवहारमा शून्य : डा.वाग्ले

हिमाल प्रेस २३ वैशाख २०८२ १५:२२ | Tuesday, May 6, 2025
समन्वयहीन नीति तथा कार्यक्रम, सुशासनको प्रतिबद्धता व्यवहारमा शून्य : डा.वाग्ले रास्वपाका उपसभापति तथा सांसद डा‍.स्वर्णिम वाग्ले। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डमै सीमित रहेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले गत शुक्रबार ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दलीय आधारमा उनले आफ्नो धारणा राखेका हुन्।

उनले भने, ‘यो थाकेको सरकारले जाँगर नचलाई ल्याएको पूरानै कार्यक्रमको सूची हो, बजेटको सिलसिलेवार मिलेको छैन, पर्यटनलाई भौतिक पूर्वाधारमा लगेर जोडिएको छ, कृषिलाई व्यापारसँग जोडिएको छ, नीति तथा कार्यक्रममा परराष्ट्र र अर्थ मन्त्रालयबीच पनि समन्वय देखिँदैन।’

सरकार गठनको क्रममा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने भनिए पनि व्यवहारमा शून्य देखिएको उनको भनाइ छ।

कांग्रेस र एमालेले संविधान संशोधन गर्ने सहमति गरेपनि सरकार गठन भएको १० महिनासम्म संशोधनको विषय बाहिर ल्याउन नसकेको उनले बताए।

डा.वाग्लेले नीति तथा कार्यक्रममा समावेश उच्चस्तरीय आर्थिक सुधार सुझाव प्रतिवेदनको व्यावहारिक रूपमा कार्यान्वयन गरेको खण्डमा आफ्नो पार्टीले समर्थन गर्ने प्रतिबद्धता जनाए।

आर्थिक तथा व्यावसायिक वातावरण सुधार एवम् लगानी अभिवृद्धि विधेयकमा आफ्नो पार्टीले सरकारलाई सहयोग गरेको प्रसंग उल्लेख गर्दै उनले नीति तथा कार्यक्रममा भौतिक परियोजनाको पुनः प्राथमिकीकरण गर्ने विषय सकारात्मक भएको टिप्पणी गरे।

प्रकाशित: २३ वैशाख २०८२ १५:२२ | Tuesday, May 6, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast