शिक्षक नेताहरूले कांग्रेस प्रमुख सचेतकलाई भने- सरकार र महासंघबीचको सहमतिअनुसार शिक्षा ऐन आउनुपर्छ

हिमाल प्रेस २४ वैशाख २०८२ १६:२६ | Wednesday, May 7, 2025
शिक्षक नेताहरूले कांग्रेस प्रमुख सचेतकलाई भने- सरकार र महासंघबीचको सहमतिअनुसार शिक्षा ऐन आउनुपर्छ

काठमाडौँ- नेपाल शिक्षक महासंघका पदाधिकारी तथा आबद्ध/सम्बद्ध घटकका अध्यक्षहरूले आज सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई शिक्षा ऐन र महासंघसँग भएका सहमतिबारे ध्यानाकर्षण गराएका छन्।

यही वैशाख १७ गते आन्दोलनकर्ता नेपाल शिक्षक महासंघ र सरकारबीच नौबँदे सहमति र आगामी असार १५ गते शिक्षा विधेयक प्रतिनिधिसभाबाट पास गर्ने लिखित सहमति भएको थियो। सो सहमतिपछि महासंघले ८९ दिन लामो आन्दोलन स्थगित गरेको थियो।

सरकारले महासंघसँग विगतमा गरेको सहमतिअनुसार नै शिक्षा ऐन जारी हुनुपर्ने, सहमति अक्षरसः कार्यान्वयन हुनुपर्नेलगायतका विषयमा प्रमुख सचेतक घिमिरेको ध्यानाकर्षण गराएको हो। नौबुँदे सहमति र शिक्षा ऐन जारी गर्न सुनिश्चित गर्ने १७ वैशाखको वार्तामा घिमिरे पनि थिए।

घिमिरेसँगको भेटघाटबारे नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा भन्छन्, ‘सहमतिअनुसार नै अगाडि जानुपर्छ। त्यसमा म र नेपाली कांग्रेस दृढ छ भन्नुभयो।’ महासचिव थापाले सरकारले महासंघसँग गरेका सहमति उल्लंघन गर्छ कि भनेर नै निरन्तर खबरदारी गरेको जानकारी दिए।

घिमिरेसँगको कुराकानीमा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव थापा, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हंसबहादुर शाहीलगायत थिए।

प्रकाशित: २४ वैशाख २०८२ १६:२६ | Wednesday, May 7, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast