 
                             
                                            काठमाडौँ- नेपाल शिक्षक महासंघद्वारा सञ्चालित २०८१ सालको चैत २० गते काठमाडौँ केन्द्रित शिक्षक–कर्मचारी आन्दोलन सफलतापूर्वक टुंगिएको छ। आन्दोलनका मुख्य मागहरूमध्ये विद्यालय शिक्षा ऐन जारी गर्ने विषय अब संसद्को प्रक्रियामा प्रवेश गरिसकेको महासंघले जनाएको छ।
महासंघका अनुसार विगतमा भएका कतिपय सहमति मन्त्रिपरिषद्को निर्णयबाट कार्यान्वयनमा आइसकेका छन्। यस्तै, शिक्षा ऐनसम्बन्धी माग संसद्मा पेस भई समयतालिकासहित सुनिश्चित भइसकेको हुँदा आन्दोलनलाई सफल मानिएको छ।
शिक्षक–कर्मचारी आन्दोलन २०८१ माघ २० गतेदेखि सुरु भएको थियो। आन्दोलनले राज्यपक्षमाथि विगतमा गरिएका सहमतिहरूलाई विद्यालय शिक्षा ऐनमा समावेश गर्न दवाव सिर्जना गरेको महासंघको ठम्याइ छ। साथै, विद्यालय, विद्यार्थी, शिक्षक–कर्मचारीका समस्या र माग जनमानसमा स्थापित गराउन आन्दोलन प्रभावकारी बनेको महासचिव तुलाबहादुर थापाले जानकारी दिए।
महासंघले आन्दोलन सफल बनाउन सहयोग गर्ने सबै तहका पदाधिकारी, सम्बन्धित संस्था, स्वयंसेवक, अभिभावक, विद्यार्थी संगठन, मानव अधिकारकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, राजनीतिक व्यक्तित्वहरूप्रति आभार व्यक्त गरेको छ।
अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव थापाद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा शिक्षक–कर्मचारीका हकहितका लागि भविष्यमा पनि संस्थागत प्रयास जारी रहने उल्लेख छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             ![एकसाथ पाँच राजनीतिक दलको कार्यालयमा धर्ना दिएर ध्यानाकर्षणपत्र बुझाउँदै शिक्षक महासंघ [पत्रसहित]](https://himalpress.com/wp-content/uploads/2025/09/cnt-janamat.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 