विश्व शान्तिका लागि संस्कृति र सभ्यताबीच समझदारी आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

हिमाल प्रेस १६ जेठ २०८२ १९:४८ | Friday, May 30, 2025
विश्व शान्तिका लागि संस्कृति र सभ्यताबीच समझदारी आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति, स्थिरता र सद्भावका लागि विभिन्न संस्कृति र सभ्यताहरुबीच समझदारी वृद्धि आवश्यक रहेको बताएकी छन्।

चीन भ्रमणका क्रममा गान्सु प्रान्तको डुन्ह्वाङमा आयोजित सभ्यताहरुबीचको आदान प्रदान र पारस्परिक सिकाइ सम्बन्धी चौथो संवाद कार्यक्रमलाई मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै उनले विभिन्न संस्कृतिहरुको सुन्दर बगैँचा रहेको संसारमा विविध जातीय समूह, भाषा र संस्कृतिक संगम सहअस्तित्व रहेको उल्लेख गरिन्।

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक, सुरक्षात्मक, आर्थिक, वैचारिक, जातीय र सांस्कृतिक कारणहरु बोकेको विभिन्न प्रकारका द्वन्द्वहरूले संसारलाई ग्रसित बनाएको विश्व सन्दर्भमा आयोजित संवाद महत्त्वपूर्ण रहेको बताएको उनको सचिवालयले जनाएको छ।

चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघ तथा गान्सु प्रान्त जनसरकारद्वारा संयुक्त रुपमा आयोजित ‘सिल्क रोड’को मूल भावनालाई आत्मसात् गर्दै विश्व सभ्यता कार्यान्वयनलाई गति प्रदान गर्न आयोजित चौथो संवादलाई उनले सम्बोधन गरेकी थिइन्। सो अवसरमा उनले उत्तर दक्षिण सिल्क रोड शाखाहरुको संगमविन्दु डुन्ह्वाङ सभ्यताहरुसम्बन्धी संवाद आयोजनाका लागि उत्तमस्थल रहेको उल्लेख गरिन्।

पूर्वराष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सी चिनफिङको दूरदर्शी दृष्टिकोण र अग्रगामी पहलबाट ‘बेल्ट एण्ड रोड इनिसियटिभ्स’ (बीआरआई) ले विश्वव्यापी सम्पर्क र आर्थिक सहयोगलाई प्रवर्द्धन गरेर प्राचीन सिल्क रोडलाई पुनर्जिवित, विस्तार र नवीकृत गर्ने लक्ष्य राखेको बताइन्। एसिया, अफ्रिका र युरोपभर सडक, रेल, बन्दरगाह, पाइपलाइन र डिजिटल पूर्वाधार विस्तार गर्नु बीआरआई पहलको मुख्य लक्ष्य भएको उल्लेख गरिन्।

पूर्वराष्ट्रपति भण्डारीले सन् २०१९ को अक्टोबरमा चीनका राष्ट्रपति सी को ऐतिहासिक नेपाल भ्रमणको स्मरण गर्दै त्यस बखत दुई मुलुकहरु विकास र समृद्धिका लागि नेपाल–चीन सम्बन्धलाई रणनीतिक साझेदारीमा रुपान्तरण गर्न सहमत भएको बताइन्। रासस

प्रकाशित: १६ जेठ २०८२ १९:४८ | Friday, May 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast