 
                             
                                            काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८१ का लागि विपन्न लक्षित छात्रवृत्तिको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ।
सार्वजनिक विद्यालयका कक्षा ५ र ८ मा अध्ययनरत विद्यार्थीहरूले भरेको PMT फारामका आधारमा गरिएको मूल्यांकन अनुसार शिक्षा ऐन २०६० को मापदण्डअनुसार कक्षा ६ र ९ मा छात्रवृत्ति पाउने विद्यार्थीको विवरण प्रकाशन गरिएको हो।
केन्द्रकी निर्देशक सविता दंगालले जारी गरेको सूचनामा सम्बन्धित सबै स्थानीय तह र सार्वजनिक विद्यालयहरूलाई नामावलीको आधारमा आवश्यक कार्य सम्पादन गर्न अनुरोध गरिएको छ।
शैक्षिक सत्र २०८१ मा कक्षा ५ मा अध्ययनरत विद्यार्थीमध्ये छनोटमा परेका र हाल कक्षा ६ मा अध्ययनरत रहेका छात्रछात्रामध्ये प्रथम क्वाइन्टाइलमा परेका सबै र दोस्रो क्वाइन्टाइलमा परेका छात्राहरूको विवरण यकिन गर्न भनिएको छ।
त्यस्तै, कक्षा ८ मा अध्ययनरत रहेर छात्रवृत्तिका लागि आवेदन दिएका र हाल कक्षा ९ मा अध्ययनरत रहेका विद्यार्थीमध्ये प्रथम क्वाइन्टाइलमा परेका सबै छात्रछात्रा र प्राविधिक धारतर्फ अध्ययनरत दोस्रो क्वाइन्टाइलसम्मका छात्रा तथा छात्रको विवरण पनि यकिन गर्नुपर्ने सूचनामा उल्लेख छ।
विद्यार्थीलाई वार्षिक रुपमा प्रति विद्यार्थी ६ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिनेछ। प्राविधिक धारमा अध्ययन गर्ने विद्यार्थीहरूलाई पनि सोही दरले छात्रवृत्ति दिइने व्यवस्था गरिएको छ।
छात्रवृत्तिको रकम विद्यार्थीको व्यक्तिगत बैंक खातामा पठाइने भएकाले विद्यालयहरूले २०८२ सालको जेठ पहिलो हप्ता भित्र सबै योग्य विद्यार्थीको बैंक खाता खोल्ने व्यवस्था गर्नुपर्नेछ। सो विवरण EMIS अनलाइन प्रणालीमा समयमै प्रविष्ट गर्न निर्देशन दिइएको छ।
केन्द्रले प्रकाशित नतिजा सम्बन्धित स्थानीय तह, वडा कार्यालय, विद्यालयको वेबसाइट तथा सूचना पाटीमार्फत सार्वजनिक गर्नुपर्ने जनाएको छ।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 