 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ– यस वर्षको मनसुन जेठ १८ देखि भित्रिने अनुमान मौसमविद्हरूले गरेका छन्। मौसम विभागले विगतमा भन्दा यसपालिको मनसुनमा बढी पानी पर्ने र गर्मी हुने प्रक्षेपण गरिसकेको छ। सामान्यतया जेठ १८ देखि असोज १४ सम्म बढी सचेत हुनुपर्ने सुझाव मौसमविद्हरूले दिएका छन्। यस अवधिमा पर्ने पानी खेतीपातीका लागि जीवनदायी तत्त्व भए तापनि तयारी नगर्दा वर्षा प्रकोपमा परिणत हुन सक्छ।
मौसमविदहरूका अनुसार मनसुनमा १२ महिनामध्ये ८० प्रतिशत पानी पर्छ। यस वर्षको मनसुनमा झनै बढी पानी पर्ने अनुमान छ। विभागका अनुसार यसपटक गण्डकी, लुम्बिनी र कर्णालीका अधिकांश क्षेत्रमा बढी पानी पर्ने सम्भावना छ।
‘गण्डकी, लुम्बिनी र कर्णालीको पूर्वी क्षेत्रमा बढी पानी पर्ने अनुमान गरिएको छ। यी क्षेत्रमा क्षति पनि बढी हुन सक्छ’, मौसमविद् मीनकुमार अर्याल भन्छन्। विभागका अनुसार कर्णाली प्रदेशको पूर्वी भूभाग, लुुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना छ।
सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको उत्तरपश्चिमी भूभाग, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा सरदर भन्दा बढी (४५ प्रतिशतदेखि ५५ प्रतिशत) हुने अनुमान छ।
‘ठ्याक्कै यति पानी पर्छ भन्न सकिन्न। यतिचाहिँ भन्न सकिन्छ, विगतमा भन्दा बढीचाहिँ पर्छ,’ मौसमविद् धर्मराज उप्रेती भन्छन्, ‘कति बढी पानी पर्छ भन्नेचाहिँ प्रतिशतका आधारमा अनुमान गरिन्छ।’
२५ देखि ३० प्रतिशत पानी परेमा कम क्षति हुन्छ भने ५५ देखि ६० प्रतिशत पानी परे बढी क्षति हुन्छ। उप्रेतीका अनुसार नेपालमा ६० प्रतिशतभन्दा बढी पानी पर्छ पर्छ भनेर पूर्वानुमान गर्ने संयन्त्र छैन। उनले भने, ‘यसैले ६५ प्रतिशतसम्मको अनुपातमा अनुमान गर्ने गरिन्छ।’
प्रिमनसुनमै बज्यो खतराको घण्टी
मनसुन नलाग्दा बाढीपहिरोले आतंक फैलाइसकेको छ। यसअघि नै विपद्मा परेर काभ्रे, सिन्धुपाल्चोकलगायतका क्षेत्रमा धेरै क्षति पुगिसकेको छ। मौसमविद्हरूका अनुसार यस वर्ष विगतमा भन्दा सरदर बढी पानी परेको छ। यसले गर्दा मनसुन सुरु हुनेबित्तिकै सचेत हुनुपर्ने सुझाव उनीहरूले दिएका छन्।
‘प्रिमनसुनमै पनि धेरै क्षति पुगिसक्यो। अब सचेत हुने किसिमका कार्यक्रम नल्याए झनै क्षति हुन सक्छ,’ नदीविद् मेघ आले भन्छन्, ‘सरकारले सचेतनाका कार्यक्रम ल्याएको देखिँदैन। तटीय क्षेत्रका बासिन्दालाई सचेत जगाउन ढिला भइसकेको छ।’
प्रिमनसुनमा सिन्धुपाल्चोकका हेलम्बुलगायतका क्षेत्रमा पुल बगाइसकेको छ। हुम्लाको लिमीमा हिमपहिरोले जोखिम बढाएको छ। खानेपानी संरचनादेखि बाटो भत्किएका छन्। घरहरू पनि उच्च जोखिममा छन्।
‘बिना योजना खनिएका बाटो र डोजर समस्याले अति धेरै जोखिम मोलेका छन्। सरकार सचेत हुनुपर्ने भयो,’ नदीविद् आले भन्छन्, ‘सबै समस्या कृत्रिम र मानवीय कारणले निम्तिएका हुन्।’
नेपालमा एक मनसुनमा सरदर १५०० मिलिमिटर पानी पर्छ। यसपटक सो भन्दा बढी हुने अनुमान गरिएको हो। ‘यसपटक १५०० मिलिमिटर पानी परिहाल्छ। त्योभन्दा कति धेरै पर्छ भन्ने हो’, मौसमविद् उप्रेती भन्छन्। उनका अनुसार नेपालमा एक वर्षमा १८०० मिलिमिटर पानी पर्छ। यसपटक प्रिमनसुनमै पनि सरदरभन्दा बढी पानी परिसकेको उनी बताउँछन्।
विज्ञहरूका अनुसार लामो समय खडेरी परेर पानी परेमा त्यसले बढी विपद् निम्तिन सक्छ। ‘लामो समय खडेरी परेर पानी परेमा क्षतिको जोखिम बढी हुन्छ’, मौसमविद् मीनकुमार अर्यालले भने।
गर्मी पनि बढ्ने अनुमान
यस वर्ष गर्मी पनि बढ्ने अनुमान मौसम विभागले गरेको छ। विभागका अनुसार बागममी प्रदेशको पहाडी भेगमा गर्मी बढ्ने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म छ। यो औसतभन्दा बढी हो।
मधेशमा गर्मी बढ्ने सम्भावना कम रहेकाले छ। अन्य प्रदेशमा अधिकतम तापक्रम सरदरभन्दा बढी ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म पुग्ने अनुमान छ। ‘काठमाडौँको सरदर तापक्रम ३२ डिग्री सेल्सियस हो। यो भन्दा बढी तापक्रम हुनु भनेको गर्मी बढ्नु हो,’ मौसमविद् उप्रेती भन्छन्, ‘काठमाडौँ यसअघि ३७.५ डिग्री तापक्रम पुगको रेकर्ड छ। त्यति नै पुग्छ भन्ने त छैन। तर यसपटक उच्च हिमाली क्षेत्रमा तापक्रम बढ्ने सम्भावना बढी छ।’
उप्रेतीका अनुसार उच्च हिमाली क्षेत्रमा तापक्रम बढ्दा हिमपहिरो आउने, हिउँको ढिस्कोबाट बढी पानी बग्ने र ज्यादा हिमपात हुने सम्भावना हुन्छ। ‘गर्मी कति हुन्छ भन्ने कुरा पानी कहिले सम्म पर्छ भन्नेमा भर पर्छ। कुनै ग्याप बिना (एकदुईदिनमा) पानी परिरहन्छ भने गर्मी कम हुने सम्भावना हुन्छ,’ उप्रेती भन्छन्।
नसिकेको पाठ
गत वर्ष असोज १० देखि १३ गतेसम्म निरन्तर परहेको पानीपछि आएको बाढी पहिरोले देशभर क्षति पुर्यायो। सडक संरचना र हाइड्रोपावर बढी प्रभावित भए। बाढीपहिरो र डुबानका कारण ४५ अर्ब ८२ करोड ९७ लाख ७१ हजार ५० रुपैयाँको भौतिक क्षति भएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ।
तीन दिनको वर्षापछि आएको बाढीपहिरोमा परी २४६ जनाको मृत्यु, १८ जना बेपत्ता र १७८ जना घाइते भएका थिए। पहिरोले ३८ अर्ब २२ करोड १७ लाख रुपैयाँ बराबरको क्षति गरेको छ। मनसुन बाहिरिने तरखरमा आएको बाढीले ठूलो क्षति निम्त्याएको थियो।
विभागले मनसुन भित्रिने र ठूलो क्षति निम्तिने जानकारी गराए पनि सरकार सचेत नहुँदा क्षति बढेको विज्ञहरूको टिप्पणी छ। ‘सचेतनाका काम मनसुनतिर ध्यानाकर्षण भएको देखिँदैन। विगतका घटनाबाट पाठ सिकेको भए हुन्थ्यो’, नदीविद् आले भन्छन्।
मनसुन भित्रिने तयारीमा रहँदा गृह मन्त्रालय विपद्को कार्यसूची र कार्ययोजना बनाउन जुटेको छ। विपद्मा परिचालन हुने संयन्त्र समेटेर कार्ययोजना बनाउने क्रम जारी रहेको गृहका अधिकारीहरू बताउँछन्।
मन्त्रालयअन्तर्गतको विपद् अध्ययन जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखाका अनुसार नदी क्षेत्रमा घट्ने जनशक्तिको तालिम चलिरहेको छ। यद्यपि स्थानीय तह, जनप्रतिनिधि र सुरक्षासंस्थाबीच समन्वय अझै कमजोर छ।स्थानीय तह, जनप्रतिनिधि र सुरक्षा संस्थाबीच समन्वय अझै कमजोर छ। मौसमविद्हरू भने यसले मात्र मौसमको तयारी पूरा नहुने बताउँछन्। सरकारले सबैमा सचेतता जगाएर, जोखिम पूर्ण क्षेत्रबाट निकाल्ने काम थाल्नुपर्ने उनीहरूको सुझाव छ।


 
                                             ![प्रधानमन्त्री कार्कीले देशवासीलाई भनिन्- नागरिक सुरक्षा नै हाम्रो सर्वोपरि चिन्ता हो [भिडियोसहित]](https://himalpress.com/wp-content/uploads/2025/09/Shusila-Karki.jpg) 
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 