विदेश बस्ने आफन्तलाई रातो च्याउ कोसेली

हिमाल प्रेस १३ जेठ २०८२ १८:२७ | Tuesday, May 27, 2025
विदेश बस्ने आफन्तलाई रातो च्याउ कोसेली

म्याग्दी- लेकाली क्षेत्रको जंगलमा पाइने रातो च्याउ सहर र विदेशमा रहेका आफन्तलाई पठाउने आकर्षक कोसेली बन्न थालेको छ। औषधीय गुण र स्वादले युक्त रातो च्याउ धेरैको रोजाइमा पर्ने गरेको हो। पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देश पुगेका आफन्त र यहाँ घुम्न आउने पर्यटकले रातो च्याउ कोसेलीका रुपमा लैजाने गरेका छन्।

जिल्लाको धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका उपल्लो क्षेत्रमा रातो च्याउ पाइन्छ। जेठको पहिलो सातादेखि साउनसम्म च्याउ पाइने मालिका गाउँपालिका-५ का इलमी बुढामगरले बताए।

‘बुहारी र नाति नातिनी अहिले जङ्गलमा गएर च्याउ टिप्न व्यस्त छन्। दैनिक तीन/चार किलो च्याउ टिपेर ल्याउँछन्’, बुढाले भने, ‘केही घरमा खान्छौँ, केही बजारमा बेच्न पठाउछौँ, धेरैजसो बेनी, पोखरा, काठमाडौँमा रहेका आफन्तहरु विदेशमा गएका आफन्तलाई कोसेलीको रुपमा पठाउने गर्छौँ।’

आलो रातो च्याउ बजारमा आठ सयदेखि एक हजार दुई सय सम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए। धवलागिरि गाउँपालिका-४ की तारा विकले जापानमा रहेका छोरालाई केही दिन अघि दुई किलो रातो सुकाएको च्याउ कोसेली पठाइन्। जेठ लागेयता उनले १४ किलो च्याउ संकलन गरेर बिक्री गरी १५ हजार बढी आम्दानी गरेकी छन्।

बजारमा रातो च्याउ बिक्रीको समस्या नभएको उनको भनाइ छ। जिल्लाका लेकाली क्षेत्रमा पाइने च्याउ शुद्ध प्राकृतिक र पौष्टिक हुने भएकाले सहरका बासिन्दा जंगल च्याउ खरिद गर्न गाउँतिर आउने गरेको स्थानीय बताउँछन्।

प्रकाशित: १३ जेठ २०८२ १८:२७ | Tuesday, May 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast