वर्ष खेलाडीमा भलिबलको वर्चश्व, हिमालप्रेसकर्मीलाई उत्कृष्ट पत्रकार अवार्ड

हिमाल प्रेस २६ वैशाख २०८२ २१:२० | Friday, May 9, 2025
वर्ष खेलाडीमा भलिबलको वर्चश्व, हिमालप्रेसकर्मीलाई उत्कृष्ट पत्रकार अवार्ड

पोखरा– नवौँ पोखरा स्पोर्टस् अवार्ड–२०८१ मा भलिबलकै दुई खेलाडी अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी घोषित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा शुक्रबार पोखरामा आयोजित समारोहमा उनीहरुलाई अवार्डसहित स्कुटर प्रदान गरिएको छ।

महिला राष्ट्रिय भलिबल टिम कप्तानसमेत रहेकी अरुणाले योसहित तीनपल्टसम्म वर्ष खेलाडीको अवार्ड हात पारिन्। उनी दोस्रो र छैटौ संस्करणमा अवार्ड जित्दै स्कुटर चढिसकेकी थिइन्।

२०७२ सालको पहिलो संस्करणदेखि हाल नवौँसम्म आइपुग्दा अरुणा सर्वाधिक पाँचपटकसम्म मनोनयनमा पर्ने खेलाडीमध्ये एक हुन्। अर्का टेनिसका प्रदीप खड्का हुन्।

वर्ष खेलाडी महिलातर्फ अरुणासहित गत वर्षकी वर्ष खेलाडी तेक्वान्दो तथा मुआथाईकी सुस्मिता थापा र फेन्सिङकी कृपा गुरुङसमेत उत्कृष्ट तीन मनोनयन थिए।

यस्तै, टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठलाई पछि पार्दै नवलपुरका विश्वासले पहिलोपल्ट वर्ष खेलाडीको अवार्ड चुमेका हुन्।

उदीयमान खेलाडीको अवार्ड क्रिकेटकी रचना चौधरी र वर्ष उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङले हात पारे।

वर्ष उत्कृष्ट पत्रकार अवार्ड हिमालप्रेसकर्मी विजय नेपालले प्राप्त गरे। म्याग्दी जिल्ला भलिबल संघ उत्कृष्ट खेल संस्थाको अवार्डबाट सम्मानित भयो।

लाइफटाइम अचिभमेन्ट अवार्डबाट सुटिङकी भगवती खत्री क्षत्रीलाई सम्मान गरियो। लाइफटाइमतर्फ चाँदीको करुवा तथा अन्य विधामा नगद ३५ हजारसहित अवार्ड प्रदान गरिएको मञ्चका अध्यक्ष एमबी आस्थाले जनाएका छन्।

गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, गण्डकीका पूर्व मन्त्री पञ्चराम गुरुङ, पोखराका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, गण्डकीका प्रेस रजिष्ट्रार विमला भण्डारी, राष्ट्रिय खेलकुद परिषद् उपाध्यक्ष ध्रुव आचार्यलगायतले अवार्ड प्रदान गरे।

अहिलेकी लोकप्रिय गायिका समीक्षा अधिकारीले सो अवसरमा गीत गाएकी थिइन्। कार्यक्रम सञ्चालन मञ्चका उपाध्यक्ष राजाराम पौडेल, उमा आले र महासचिव परशुराम शर्माले संयुक्त रुपमा गरे।

प्रकाशित: २६ वैशाख २०८२ २१:२० | Friday, May 9, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast