रोचक ‘एल क्लासिको’ : बार्सिलोनाको रबाफ, छायाँमा एम्बाम्पेको ह्याट्रिक

हिमाल प्रेस २९ वैशाख २०८२ ६:४२ | Monday, May 12, 2025
रोचक ‘एल क्लासिको’ : बार्सिलोनाको रबाफ, छायाँमा एम्बाम्पेको ह्याट्रिक

काठमाडौँ- ‘एल क्लासिको’को सनसनीमय खेलमा बार्सिलोनाले जित निकालेको छ।

आइतबार दुई गोलले पछि परेको खेलमा रियल म्याड्रिडलाई ४-३ ले हराउँदै बार्सिलोना च्याम्पियन बन्ने अभियानमा थप मजबुत बनेको छ। रियलका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए। रियलले खेलको सुरुवातमै २-० को अग्रता बनायो ।

एम्बाप्पेले १४ मिनेटभित्र २ गोल गरे। तर बार्सिलोनाले पहिलो हाफमै ४ गोल फर्कायो। एरिक गार्सिया, लामिन यामालले समान १ र राफिन्हाले २ गोल गरे। २० मिनेट बाँकी रहँदा एम्बाप्पेले फेरि गोल गर्दै क्लबका लागि सिजनको जम्मा ३९औं गोल पूरा गरे। रियलका कुनै पनि नयाँ खेलाडीले पहिलो सिजनमा गरेको यो सबैभन्दा धेरै गोल हो।

खेलको अन्त्यमा बार्सिलोनाका फर्मिन लोपेजको गोल ह्यान्डबलको कारण भीएआर समीक्षा पछि रद्द गरियो। यो जितले बार्सिलोनालाई रियलमाथि ७ अंकको अग्रता बनायो। ला लिगामा अब ३ खेल मात्र बाँकी छन्। एम्बाप्पेले बार्सिलोनाका गोलकिपर वोज्शेक शेस्नीबाट फाउल गरिएपछि पेनाल्टीमार्फत पहिलो गोल गरे । त्यसपछि भिनिसियस जुनियरको पासमा दोस्रो गोल थपे।

१९औं मिनेटमा गार्सियाले कर्नरबाट हेड गर्दै गोल गरे र अन्तर घटाए। त्यसपछि यामालले ३२ औं‌ मिनेटमा बराबरी गोल गर्दै खेलमा आफ्नो महत्व दर्साए।‌ बलोन डि’ओरका दावेदार राफिन्हाले त्यसपछि यामालको क्रसमा हेड गरे तर गोल गर्न चुके। तर उनले फेरान टोरेसको पासमा गल्ती नगरी ४५ औं मिनेटमा चौथो गोल थपे।

एम्बाप्पेले ७० औं मिनेटमा क्लोज रेन्जबाट गोल गर्दै ह्याट्रिक पूरा गरे। ला लिगाको सर्वाधिक गोलकर्ताको दौडमा दुई गोलको अग्रता बनाए। लिगका तीन खेल बाँकी हुँदा बार्सिलोनाको ८२ र रियलको ७५ अंक छ। अब बार्सिलोनाले स्पानियोलसँग खेल्नेछ। उक्त खेल जिते बार्सिलोनाले २ खेल अघि नै उपाधि उचाल्ने छ।

प्रकाशित: २९ वैशाख २०८२ ६:४२ | Monday, May 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast