 
                             
                                            काठमाडौँ- नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा शिविरमा ८०० भन्दाबढीले प्रत्यक्ष लाभ लिएका छन्। दूतावासले यही वैशाख १७ गतेदेखि १८ गतेसम्म उक्त शिविर सञ्चालन गरेको थियो।
सो शिविरमध्ये शुक्रबार यूएईमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीको निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । उक्त शिविरमा तीन सय बढीले सेवा लिएका थिए।
नेपाली सेवाग्राहीलाई अहिल्या हस्पिटल अबुधावीका डा याशिर श्रेष्ठसहितको स्वास्थ्यकर्मीको टोलीले निःशुल्करूपमा आँखा, मधुमेह, ब्लड प्रेसरको परीक्षण गरेको थियो।
स्वास्थ्य परीक्षणसँगै डा. श्रेष्ठले शारिरीक तथा मानसिक समस्या र समाधानका विषयमा जानकारी गराउँदै उपस्थित नेपाली नागरिकसँग अन्तरक्रियासमेत गरेको नेपाली दूतावासले जनाएको छ।
सो कार्यक्रममा दूतावासले श्रमसँग सम्बन्धित विविध विषयमा सचेतनामूलक जानकारीसमेत उपलब्ध गराएको थियो। सो अवसरमा कन्सुलर प्रमाणीकरणलगायत अन्य सेवा नियमितरुपमा सञ्चालन गरिएको थियो।
राजदूतावासले सेवा प्रवाहसँगै यूएइमा कार्यरत नेपालीलाई शारिरीक तथा मानसिक स्वास्थ्य र श्रमसम्बन्धी विषयमा आवश्यकताअनुसार समयसमयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
राहदानी नवीकरणसम्बन्धी विशेष काउन्टर सञ्चालन गरी सेवा उपलब्ध गराउने कार्यमा गैरआवासीय नेपाली संघ, यूएई तथ नेपाली समाज, यूएईले स्वयंसेवक उपलब्ध गराइ सहयोग गरेको थियो।
राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतावास सधैँ क्रियाशील र कटिबद्ध रहेको दूतावासले जनाएको छ।
दूतावासले यसअघि पनि आवश्यकताअनुसार विभिन्न समयमा विशेष काउन्टर सञ्चालन गरेर यस किसिमका शिविर सञ्चालन गर्दै आएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 