 
                             
                                            काठमाडौँ– राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा मोटरसाइकल र्याली निकालेको छ।
संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै आन्दोलनरत समितिले शुक्रबार काठमाडौँमा मोटरसाइकल र्याली निकालेको हो।
काठमाडौँको सुकेधाराबाट सुरु भएको र्याली महाराजगञ्ज चोक, बालाजु, कलंकी हुँदै बल्खु पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमा सहभागीहरुले ‘संवैधानिक राजसंस्था सनातन हिन्दु अधिराज्य पुनस्र्थापना गर, कुशासन र भ्रष्टाचारको अन्त्य गर, आस्थाका बन्दी रिहा गर’ लगायतका नारा लगाएका थिए।
कोणसभामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुको आन्दोलन देशको परिवर्तनका लागि भएकाले आन्दोलनमा साथ दिन आह्वान गरे। हरेक आन्दोलनमा काठमाडौँले निर्णायक भूमिका निर्वाह गरेको भन्दै अबको परिवर्तनको निर्णायक आन्दोलनमा पनि सहभागी हुन उनले आग्रह गरे।
उनले चैत्र १५ गते काठमाडौँमा भएको शान्तिपूर्ण आन्दोलनमा राज्यले हस्तक्षेप गरेर दुई जनाको ज्यान गएको आरोप समेत लगाए। यसअघि समितिले जेठ १५ देखि राजसंस्था पुनःस्थापनाका लागि भन्दै अनिश्चितकालीन आन्दोलनको घोषणा समेत गरिसकेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 