रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर। 
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दिएको पछिल्लो आदेश विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको प्रतिक्रिया दिएको छ।
पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सम्मानित सर्वोच्च अदालतले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा दिएको पछिल्लो आदेशको कानुनी पालना गर्न बाध्य भए पनि विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको मत राख्दछ।’
मौलिक अधिकारसँग जोडिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सार्थक सम्बोधन नहुनु, ‘बेल सुनुवाइ’ मा सीमित हुनपर्ने विषय मुद्दाको गुणदोषमै केन्द्रित हुन गई प्रमाण ऐन २०३१ को दफा २५ को प्रतिकुल हुने गरी प्रमाणको भार प्रतिवादीले नै बोक्नुपर्ने आशय व्यक्त हुनु एवं सर्वोच्च अदालतबाटै स्थापित नजिरहरुको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दिइनुले विधिको शासनप्रति आस्था राख्ने नागरिकका लागि चिन्ताको विषय बनेको रास्वपाको विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले सरकारद्वारा सहकारीको राष्ट्रव्यापी समस्याको समाधान नखोजी सम्बन्धित मुद्दाहरूमा चयनात्मक अभियोजन, फरक व्यवहार र समान प्रकृतिका मुद्दामा दलीय आबद्धत्ताको आधारमा विभेद भइरहेको यथार्थलाई ‘राजनीतिक प्रतिशोध’ का रुपमा चित्रित गर्दै आएको छ।
लामिछानेले संगठित अपराध गरेको नभई राज्यले नै लामिछानेमाथि संगठित अपराध गरिरहेको अभिमत आम जनतामा गड्दै गएको निष्कर्ष पार्टीको छ। पार्टीले दलतन्त्रको दोहन, राज्य संयन्त्रको अस्त्रीकरण लगायतका बेथिति एवं ‘प्रतिशोधविरुद्ध न्यायका लागि बृहत् अभियान’ को अवधारणापत्र अनुमोदन गरेको छ।
अबका राजनीतिक मुद्दा देश-विदेशमा रहेका आम नेपालीमाझ नै स्थापित गर्ने गरी अघि बढाउन अभियान सञ्चालन गरिने भएको छ। त्यसका लागि सहकोषाध्यक्ष दीपक बोहरालाई संयोजक तोकिएको छ।
गृहमन्त्री र उनको सचिवालय ‘भिजिट भिसा’ मार्फत मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भई पार्टीले यसअघि नै ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ’ भन्ने दृष्टान्तअनुरुप ‘यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको’ सम्बन्धमा सदनमा यसको कार्यान्वयनका लागि आवश्यक प्रभावकारी कदम चाल्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ।
पार्टीले तेस्रो स्थापना दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्ने साथै यस अवसरमा पार्टीको प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहसम्म एवं प्रवासमा समेत स्वतः स्फूर्त रुपमा विभिन्न कार्यक्रम गर्ने भएको छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

