रमेश लेखकलाई विगत सम्झाउँदै रास्वपाले भन्यो- पदबाट राजीनामा दिनुस्

हिमाल प्रेस १० जेठ २०८२ १९:०१ | Saturday, May 24, 2025
रमेश लेखकलाई विगत सम्झाउँदै रास्वपाले भन्यो- पदबाट राजीनामा दिनुस् रास्वपा केन्द्रीय कार्यालय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। पार्टीको शनिबार बसेको भर्चुअल बैठकले लेखकको राजीनामा माग्ने निर्णय गरेको प्रवक्ता मनीष झाले बताए।

गृहमन्त्री र उनका सचिवालय नै ‘भिजिट भिसा’ मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भएकोमा आपत्ति जनाउँदै रास्वपाले राजीनामा मागेको हो।

रास्वपाले विगतमा सांसद रमेश लेखकले नै सदनमा, ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाएको छ। रास्वपाबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि कांग्रेस सांसद लेखकले प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताएका थिए।

गृहमन्त्री लेखकको मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि रास्वपाले सुझाव दिएको छ।

बैठकले सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हकमा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश कानुनी रूपमा स्वीकार गरेको छ।

सहकारीको बोर्डमा रहेका, सहकारी बचतकर्ताको अर्बौँ रकम अपचलनमा संलग्नलाई गरिएको व्यवहार र कम्पनी ऐनअनुसार हेरिनुपर्ने मुद्दालाई जबरजस्ती सहकारीसँग जोडिएर आधारहीन, तथ्यहीन तर्कका आधारमा निर्णय भएछ कि भन्ने आशंकाको यथेष्ट सम्भावना रहेको पार्टीले सरोकार र चिन्ता जाहेर गरेको छ।

रास्वपाले दुई ठूला दलको गठबन्धन सरकारले फिटिक्कै केही काम नगरेर देशमा व्याप्त निराशा थप्ने, सुशासनको धज्जी उडाउने, काम गर्नेहरूलाई लखेट्ने र हरेक संवैधानिक निकाय र राज्य संयन्त्रलाई दलीयकरण गर्ने गैरराजनीतिक अभ्यास गरिरहेको आरोप लगाएको छ।

प्रकाशित: १० जेठ २०८२ १९:०१ | Saturday, May 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast